सुदूरपश्चिममा फेरी बढ्यो दैनिक संक्रमण, आज ११३ जनामा कोरोना पुष्टि
2020/07/31, 5:04
 
Corona

सुदूरपश्चिमका आज एक सय १३ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ४०, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २६, धुलिखेल अस्पतालको प्रयोगशालामा ३४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा १३ गरी आज एक सय १३ जनामा कोरोना पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बझाङका २५ र कैलालीका १५ गरी ४० जनामा संक्रमण पुष्टि भएको बताए।

उनका अनुुसार धुलीखेल अस्पतालमा भएको परीक्षणमा कञ्चनपुरका १८ र दार्चुलाका १६ जनामा पनि कोरोना देखिएको छ भने डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा बैतडीका १० र डोटीका तीन जनामा संक्रमण पुष्टि भएको छ। 

यता सेती अस्पतालको प्रयोगशालामा आज मात्रै कैलालीका २३, बझाङका दुई र कञ्चनपुरका एक गरी २६ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीका २३ जना मध्ये धनगढीका मात्रै १६ जना छन्।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ८ जना पुरुष र ८ जना महिलामा संक्रमण देखिएको हो।

धनगढी उप–महानगरपालिका वडा नम्वर ६, ८, ११ र १८ का एक/एक जना, वडा नम्वर ७ का चार जना, वडा नम्वर १२ का तीन जना र वडा नम्वर १४ का पाँच जनामा संक्रमण पुष्टि भएको धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए।

यस्तै कैलालीको टीकापुर नगरपालिका वडा नम्वर ६ का तीन जना, वडा नम्वर १, २ ७ र ८ का एक/एक जनाा कोरोना देखिएको छ। 

सेती अस्पतालका सूचना अधिकारी श्रेष्ठले बझाङको मष्टा–१ का २० बर्षीय पुरुष, छव्विसपाथिभेरा गाउँपालिका वडा नम्वर ७ का ४२ बर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १७ का २५ बर्षीय पुरुषमा कोरोना देखिएको दिनेश खवरलाई जानकारी दिए।  

आज एक सय १३ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार पाँच २४ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार ७० जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै डोटीका सात सय ७०, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका पाँच सय ४४, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९५, बझाङका दुई सय नौँ र दार्चुलाका ३८ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका तीन हजार ८ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।