धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान गर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले प्रारम्भीक अनुसन्धानका क्रममा खरिद प्रक्रियामा कैफियत देखिएकोले उजुरी कायम गरेर विस्तृत अनुसन्धान थाल्ने जनाएको छ ।
अख्तिायार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता टोपबहादुर विष्टका अनुसार राहत वितरणमा भएको अनियमितता सम्बन्धी अनुसन्धान गर्न उजुरी दर्ता भएर अन्य प्रक्रिया अगाडी बढिरहेको छ । धनगढी उप–महानगरपालिकाले कोरोना भाईरसको महामारीपछि प्रभावित भएकाहरुलाई वितरण गरेको चामल कुहिएको भेटिएपछि विवाद भएको थियो । अख्तियारले जेठ १ गते धनगढी उप–महानगरपालिकामा छापा हान्दै खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएको थियो ।
यता राहत वितरणमा कुहिएको र किरा परेको चामल वितरण भएपछि गठन गरिएको छानबिन समितिले पनि प्रतिवेदन बुझाउने तयारी गरेको छ । तीन दिनको समय सीमा दिएर गठन गरिएको समितिले छानविन र अनुगमनपछि प्रतिवेदन वुझाउने तयारी गरेको हो । वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीको संयोजकत्वमा गठन भएको छानबिन समितिले दुई दिन लगाएर ५ वडाहरुमा वितरणका लागि राखिएको चामलको स्थलगत अनुगमन गर्दै चार वडामा कुहिएको र एक वडामा राम्रो चामल पाएको थियो ।
छानविन समितिले चार वडामा एक हजार तीन सय ५१ कट्टा कुहिएको र किरा परेको चामल फेला पारेको थियो । नम्बर ४ मा २ सय ६९ कट्टा, वडा नम्वर ५ मा ८ सय ८७ कट्टा, वडा नम्बर १ मा ९ मा ९५ कट्टा र वडा नम्बर २ मा १०० कट्टा कुहिएको चामल पाईएको छानबिन समितिले जनाएको छ । वडा नम्बर १२ मा वितरण गरिएको चामल राम्रो र खान योग्य रहेको समितिको भनाई थियो ।
वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी संयोजक रहेको छानविन समितिमा वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गिता पन्त सदस्य रहेका छन् । त्यसैगरी धनगढी उप–महानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्य सचिव रहेका छन ।