कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको नेपालको नयाँ अन्तराष्ट्रिय समुदायमा पठाउने सरकारको तयारी
2020/08/02, 7:36
 
map

सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको राजनीतिक तथा प्रशासनिक रुपमा जारी गरेको नेपालको नयाँ नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने भएको छ । यसका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायलगायत युनाइटेड नेशन (युएनओ) र गुगगमा समेत प्रकाशित हुने गरी तयारी गरेको भूमि, व्यवस्था तथा गरिबी मन्त्री पद्मा अर्यालले बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘हामी चाँडै नै नेपालको नयाँ नक्सा (कालापानी, लिपुलेक र लिम्पियाधुरा सहित) लाई अन्तराष्ट्रिय समुदायमा पठाउनेछौं । त्यसको लागि सरकारले गर्नुपर्ने आवश्यक तयारी गरिरहेको छ ।’ उनका अनुसार सो नयाँ नक्साको अंग्रेजी रुपान्तरणको काम भइरहेको यो कार्य सकिएसँगै यही साउनको अन्त्यसम्ममा पठाइसक्ने उनको भनाइ छ ।

यस्तै नापी विभागका सूचना अधिकरी दामोदर ढकालका अनुसार नेपालको नयाँ नक्सा करिब ४ हजार प्रति अंग्रेजीमा छपाई गरिसकेको र अन्तराष्ट्रिय समुदायमा समेत वितरण गरिसकिएको छ । उनले भनेका छन्, ‘नयाँ छपाइ कार्यको लागि विभागको कार्यकारी निर्देशकको नेतृत्वमा एउटा उप समिति बनाइएको छ जसले छपाइको काम गरिसकेको छ।अब पठाउने कार्य हुन बाँकी रहेको छ ।’

यस्तै सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि विभागले तत्कालै २५ हजार प्रति देशका विभिन्न भागमा पठाउनका लागि छपाइसकेको थियो भने स्थानीय निकाय, प्रादेशिक तथा अन्य सरकारी कार्यालयहरुका लागि निःशुल्क तथा सर्वसाधारणको लागि भने ५० मा उपलब्ध गराइएको थियो । यता, मन्त्रालयले पनि अब किताबमै लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नक्सा छाप्ने तयारीमा जुटेको छ। मन्त्री अर्याल भन्छिन्, ‘ जसरी भए पनि हाम्रो प्राथमिकता पहिला अंग्रेजीमा नेपालको नयाँ नक्सा प्रकाशन गर्ने र अन्तराष्ट्रिय समुदायमा वितरण गर्ने हो ।’

सरकारले जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो । यसअघि सरकारले नयाँ नक्साको लागि संसदको दुवै सदन प्रतिनिधिसभा र प्रदेश सभामा भूमि व्यवस्था तथा गिरिबी निवारणमन्त्री पद्मा अर्यालले प्रस्ताव पेश गरेकी थिइन् ।