
शनिबार आर्यघाटमा शव जलाउन ठिक्क पारिएको थियो। ललितपुर प्रहरी परिसरको टोली पशुपति आर्यघाटको शव जलाउन लागेको ठाउँमै पुग्यो। प्रहरीले शव उठायो र दाहसंस्कार गर्न लागेका छोरालाई हतकडी लगायो।

घटना ललितपुर गोदाबारीको हो। सन्तोष नेपालीले बुवाको मृत्यु भएको भन्दै शनिबार गाउँलेलाई मलामी बोलाए। शव वाहनमा बुवाको शव लिएर उनी छाउनीस्थित नेपाली सेनाको अस्पतालबाट सिधै पशुपतितर्फ लागे।
गत बिहीबार बाबु छोराको झगडा भएको गाउँलेले देखेका थिए। सन्तोषले मलामी बोलाएपछि उनीहरु आर्यघाटतर्फ गएनन्। प्रहरीलाई खबर गरे। त्यसपछि, ललितपुरको प्रहरी टोलीले सन्तोषलाई पक्राउ ग¥यो। ५० वर्षीय कृष्ण नेपालीको शव प्रहरीले पोष्टमार्टमका लागि पाटन अस्पताल लग्यो।

३० वर्षीय सन्तोषलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक वयानका क्रममा उनले झगडा भएको र बाबुमाथी आफूले कुटपीट गरेको स्वीकार गरेको ललितपुरका प्रहरी प्रवक्ता एसपी तुलाबहादुर कार्कीले बताए।