सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४८३८ पुग्यो, कुन जिल्लामा कति ?
2020/08/04, 7:14
 
corona

सुदूरपश्चिम प्रदेशमा थप ३४ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप ३४ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एक सय ७० जनाको कोरोना परीक्षण भएकोमा २६ पुरुष र सात महिलागरी ३३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। 

अस्पतालका सूचना अधिकारी श्रेष्ठले कैलालीको गोदावरी नगरपालिका ९ पुरुष र ५ महिला गरी १४ जना र  कैलारी गाउँपालिकाका ६ पुरुष र एक महिला गरी ७ जनामा कोरोना पुष्टि भएको बताए। दुवै स्थानीयका जम्मा गरी कैलालीमा आज २१ जनामा कोरोना पुष्टि भएको हो। यस्तै अछामको बान्नीगढी जयगढ गाउँपालिका १० पुरुष, एक महिला गरी ११ जना र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १५ का एक पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बझाङका एक जनामा कोरोना पुष्टि भएको बताए।  मंगलबार ३४ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ८ सय ३८ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार दुई सय २७ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ८२, अछाममा सात सय २१, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

कञ्चनपुरका पाँच सय ६८, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९५, बझाङका दुई सय ७८ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका झण्डै तीन हजार तीन सय जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ। यस्तै सेती प्रादेशिक अस्पतालमा पनि कोरोना भाईरसको प्लाज्मा थेरापी विधिबाट उपचार हुने भएको छ।