सुदूरपश्चिममा आज ४३ जना कोरोना संक्रमित थपिए
2020/08/05, 5:37
 
Korona

बुधवार सुदूरपश्चिमका थप ४३ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा पछिल्लो २४ घण्टामा ४३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा चार सय नौँ जनाको कोरोना परीक्षण गरिएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार संक्रमित सबै बझाङ जिल्लाका हुन्। यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८६ जनाको कोरोना परीक्षण भएकोमा ३२ जनामा संक्रमण पुष्टि भएको छ।

कैलालीका २१, अछामका सात, बझाङका तीन र कञ्चनपुरका एक जना गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार लम्कीचुहा नगरपालिकाका ९ महिला र ८ पुरुष गरी १७ जनामा कोरोना पुष्टि भएको छ।

भजनी नगरपालिकाका २४ र ३३ बर्षीय पुरुष, गोदावरी नगरपालिका वडा नम्बर ४ का १८ बर्षीय युवक र टीकापुर नगरपालिकाका ३४ बषीय पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। 

अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर २ का चार महिला र तीन पुरुष, बझाङको खप्तडछान्नाकी ७ महिने बालिका र जयपृथ्वी नगरपालिकाका २० बर्षीया युवती र २२ बर्षीय युवकमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर ४ का ४१ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ८ सय ८१ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार दुई सय ४८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ८२, अछाममा सात सय २८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

कञ्चनपुरका पाँच सय ६९, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९५, बझाङका दुई सय ९३ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका झण्डै तीन हजार तीन सय जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।