सुदूरपश्चिममा सङ्क्रमण समुदायमा फैलिने खतरा, पालिकाहरु धमाधम लकडाउन गर्दै
2020/08/06, 3:20
 
Korona

कैलालीको कैलारी गाउँपालिकामा बुधबारदेखि अनिश्चितकालीन लकडाउन गरिएको छ । सो गाउँपालिकामा कोरोना सङ्क्रमण समुदाय उन्मुख हुने खतरा बढेपछि अनिश्चितकालीन लकडाउन गरिएको हो । 

समुदायमा सङ्क्रमण फैलिन नदिन बुधबारदेखि अनिश्चितकालीन लकडाउन गरिएको जनाइएको छ । सो गाउँपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मीसहित क्वारेन्टाइनमा खाना पकाउने भान्छे र विद्यालयका चौकीदारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पुनः बन्दाबन्दी गर्नु परेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बुधबार आकस्मिक रुपमा बसेको सरोकारवालाको बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बुधबारबाटै लकडाउन गरिएको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए ।  

लकडाउन गरिएसंगै गाउँपालिकाभित्र रहेका सम्पूर्ण बजार, संघसंस्था बन्द गरिएको छ । यसैगरी, आवतजावतमा कडाइका साथै सवारी सञ्चालनमा रोक लगाइएको छ । बाहिरका मान्छेलाई गाउँपालिका प्रवेशमा पनि रोक लगाइने गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिए ।

‘समुदायमा कोरोना फैलिन नपाओस र भोलिको दिनमा भयाबह स्थितिको सामना गर्न नपरोस भनेर बन्दाबन्दी गरिएको हो’, उनले भने । ‘यसलाई हामी कडाइका साथ लागू गर्छौ ।’ उनले चाडपर्व आउन थालेपछि भारतबाट फर्किने व्यक्ति पुनः बढेको उल्लेख गरे । यसैगरी, मास्क नलगाएर हिड्ने व्यक्तिलाई गृहमन्त्रालयले आदेश गरे बमोजिम जरिवाना गराउने चौधरीले जानकारी दिए । 

सो गाउँपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मीसहित सात जनामा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा खटेका ल्याब टेक्निसियन, चौकीदार र भान्छेमा कोरोना देखिएपछि समुदायमा फैलिने खतरा पनि बढेको छ । 

कर्मचारी लगायतका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलनको कार्य भइरहेको सो गाउँपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र सापकोटाले जनाए । उनले सङ्क्रमितको सम्पर्कमा आएका सबैको स्वाब परीक्षण गरिने बताए । सङ्क्रमण पुष्टि भएका कर्मचारीसहितका व्यक्तिलाई दीपेन्द्र माध्यमिक विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा राखिएको छ । 

स्वास्थ्य संयोजक सापकोटाका अनुसार सङ्क्रमित व्यक्ति आफ्नो घर र बजारसम्म गएका छन् । सङ्क्रमण पुष्टि भएको स्वास्थ्यकर्मी एकदिन घर गएको उनले बताए । यसैगरी, किनमेलका लागि उनी हसुलिया बजारमा पनि घुमेका छन् । 

यसैबीच, कैलारी उद्योग वाणिज्य संघ तदर्थ समितिले अनिश्चितकालका लागि बजार बन्द गर्न आह्वान गरेको छ । समितिका अध्यक्ष नेपालु चौधरीद्वारा बुधबार प्रकाशित प्रेस विज्ञप्तीमा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाले लकडाउन गरेकाले बजार बन्द गर्न आग्रह गरेको हो । 

प्रदेशभरि ४३ जना थप नयाँ संक्रमित फेला
सुदूरपश्चिम प्रदेशभरि बुधबार थप ४३ जना कोरोना सङ्क्रमित फेला परेका छन् । सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २२ र डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा ११ गरी ४३ जना थप संक्रमित फेला परेका हुन । डडेल्धुरा परीक्षणमा फेला पर्ने सबै संक्रमित बझाङ्का रहेका छन् । 
यता, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १५ महिला र १७ जना पुरुष गरी ३२ जना सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा २८६ नमूना जाँच गर्दा ३२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । 

अस्पतालको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले दिएको जानकारी अनुसार सबैभन्दा बढी कैलालीको लम्कीचुहा नगरपालिकामा १७ जना सङ्क्रमित फेला परेका छन् । यसैगरी, अछामको बान्नीगढी जयगढ गाउँपालिकामा दुई÷दुई वर्षको बालबलिकासहित सात जना सङ्क्रमित थपिएका छन् । 

बझाङको जयपृथ्वीबहादुर नगरपालिका दुई, कैलालीको भजनी नगरपालिकामा दुई, बझाङ्को खप्तडछान्ना गाउँपालिकामा एक सात महिने शिशु, कैलालीको गोदावरी नगरपालिका, टीकापुर नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एक÷एक जना सङ्क्रमित फेला परेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । 
सुदूरपश्चिमभरि संक्रमितको सङ्ख्या पाँच हजार नजिक पुगेको छ । भने, यो प्रदेशमा हालसम्म कोरोनाबाट नौ जनाको ज्यान गइसकेको छ । 

कैलाली ‘हटस्पट’
कारोना सङ्क्रमण वृद्धिदरमा कैलाली हटस्पट बनेको छ । यो जिल्लाको गोदावरी, गौरीगङ्गा, लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिकामा लगायतमा सङ्क्रमित थपिनेक्रम कम भएको छैन । 

पछिल्लो समय गोदावरी नगरपालिकामा धेरै सङ्क्रमित फेला परेका छन् । सो नगरपालिकाको वडा नम्बर ११ र १२ का धेरै व्यक्ति भारतबाट फर्किएसंगै संक्रमित थपिनेक्रम बढेको हो । सो नगरपालिकामामात्रै हालसम्म ४१० जना सङ्क्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । गोदावरीमा सङक्रमितको सम्पर्कमा आएका आठ जना स्थानीयलाईसमेत कोरोना सङ्क्रमण देखिएको छ । 

सुरुदेखि हालसम्म कैलालीमा सङ्क्रमित थपिनेक्रम कैलालीमा प्रदेशमै उच्च रहेको छ । जिल्लाभरि सङ्क्रमितको संख्या एक हजार २६२ पुगिसकेको छ । यो प्रदेशमा सबैभन्दा बढी संक्रमित कैलालीमा फेला परेका छन् । कैलालीमा समुदायमै कोरोना सङ्क्रमण देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । 

लापरवाही बढ्दै
कोरोना सङ्क्रमणका लागि कैलाली हटस्पट बनेपनि स्वास्थ्य सजकता अपनाउने सवालमा लापरवाही पनि बढिररहेको छ । यो जिल्लामा कोरोना सङ्क्रमण वृद्धिदर तीव्र रुपमा भइरहँदा मान्छेहरु मास्क नलगाई भीडभाडमा हिड्न थालेका छन् । 

गाउँघरको कुरा त परै जाओस अस्थायी राजधानी धनगढीमा अधिकांश मानिस मास्क नलगाई निर्वाध रुपमा हिडिरहेको देख्न सकिन्छ । बजारमा मास्क नलगाउनेक्रम बढ्दैछ । मान्छेको हेलचक्रयाइँले कोरोना सङ्क्रमण झनै बढ्ने खतरा रहेको छ ।