धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको विषयमा गठन भएको छानविन समितिले आज प्रतिवेदन वुझाउँदै छ । राहत वितरणमा कुहिएको र किरा परेको चामल वितरण भएपछि गठन गरिएको छानबिन समितिले आज दिउँसो प्रतिवेदन बुझाउने तयारी गरेको छ । वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीको संयोजकत्वमा गठन भएको छानबिन समितिको प्रतिवेदन कस्तो आउला भन्ने जनचासो वढेको छ ।
धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा चामल आपुर्तिको ठेक्का धनगढीको ठाकुर टे«ड लिंकले पाएको थियो । उसले यसअघि १६ वटा वडामा चामल वितरण गर्दा कुनै समस्या र गुनासो नआए पनि वडा नम्बर ४ मा कुहिएको चामल पाईएपछि विवाद चर्किएको थियो । त्यसपछि वितरण गर्न बाँकी रहेका वडाहरुको चामलको बारेमा जानकारी लिदैं वस्तुस्थिति वुझ्न छानविन समिति बनाईएको थियो ।
स्रोतका अनुसार छानविन समितिको प्रतिवेदनमा चामल आपुर्तिकर्तालाई कारवाहीको सिफारिस हुनेछ । चामल आपुर्तिकर्तासँगको वयानमा आपुर्तिकर्ताले आफुलाई अर्को उद्योगले आपुर्ति गरेका कारण गुणस्तरहीन चामल परेको बयान दिएका छन् । सोही कुरालाई ध्यानमा राखेर चामल आपुर्तिकर्ता नै जिम्मेवार भएकोले कारवाहीको सिफारिस छानविन समितिले गर्नेछ ।
छानविन समितिले सवै विषयमा छानविन र अनुगमन गरेपछि धनगढी उपमहानगरपालिकालाई वुझाउन प्रतिवेदन तयार पारिरहेको छ । दिईएको तीन दिनको समय सीमा आज विहान पुगे पनि प्राविधिक कारण प्रतिवेदन तयार पार्न ढिलाई भईरहेको छ । तर आज जसरी पनि प्रतिवेदन तयार पारेर वुझाउने वुझाउने संयोजक मुरारी अधिकारीले बताए ।
वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी संयोजक रहेको छानविन समितिमा वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गिता पन्त सदस्य रहेका छन् । त्यसैगरी धनगढी उप–महानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्य सचिव रहेका छन ।