सुदूरपश्चिममा कोरोना मिटरः २० देखि ३० वर्ष उमेरका बढी संक्रमित
2020/08/06, 5:57
 
corona

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना सङ्क्रमण २० देखि ३० वर्ष उमेर समूहका युवामा देखिएको छ । कामका लागि अन्यत्र जाने युवा नै बढी रहेका कारण २० देखि ३० वर्ष उमेर समूहका व्यक्तिमा बढी सङ्क्रमण देखिएको हो । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म यो उमेर समूहका दुई हजार ४१ जना व्यक्ती कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । जसमध्ये पुरुष एक हजार ५५५ जना र महिला ४८६ जना छन् ।

यसपछि, ३० देखि ४० उमेर समूहका व्यक्तिमा बढी सङ्क्रमण पाइएको मन्त्रालयले जानकारी दिएको छ । यो उमेर समूहका कुल ९८० सङ्क्रमितमध्ये पुरुष ७६५ र महिला २२५ जना रहेको जनाइएको छ । २० देखि ३० र ३० देखि ४० उमेर समूह श्रमको हिसाबले निकै दक्ष जनशक्ति हो । कामका लागि भारत सहित अन्यत्र जानेमा यही उमेर समूहका मान्छे धेरै छन् ।

यस्तै, १० देखि २० वर्ष उमेर समूहका ५८१ जना व्यक्तिमा कोरोना लागेको पुष्टि भएको छ । जसमध्ये ४९७ जना पुरुष र १२४ जना महिला छन् । दक्ष जनशक्ति र किशोर उमेर समूहपछि बालबालिकामा बढी कोरोना सङ्क्रमण भएको पाइएको मन्त्रालयले जानकारी दिएको छ । सो मन्त्रालयको विवरण अनुसार ० देखि १० वर्ष उमेर समूहका ४१८ जना सङ्क्रमित भएका छन् । जसमध्ये बालक २४१ र बालिकाको सङ्ख्या १७७ रहेको छ । अरु उमेर समूहमा महिलाभन्दा पुरुष सङ्क्रमित बढी भएजस्तै ० देखि १० वर्ष उमेर समूहमा पनि बालकमा सङ्क्रमण बढी देखिएको छ ।

४० देखि ५० वर्ष उमेर समूहका ३९७, ५० देखि ६० वर्ष उमेर समूहका १७२, ६० देखि ७० वर्ष उमेर समूहका ७५ जना सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ । यस्तै, ७० देखि ८० वर्ष उमेर समूहका १४ जना पुरुष, ८० देखि ९० वर्ष उमेर समूहका एक महिला र ९० देखि १०० वर्ष उमेर समूहका एक पुरुषलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म तीन हजार ५८२ जना पुरुष र एक हजार एक सय ५५ जना महिला गरी सुदूरपश्चिममा चार हजार ७३७ जना व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यसैबीच, सुदूरपश्चिम प्रदेशमा बिहीबार पाँच जना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पताल डडेल्धुराको प्रयोगशालामा गरिएको परीक्षणमा तीन र कैलालीको सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दुई गरी पाँच जना सङ्क्रमित थपिएका हुन । सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछाम साफेबगरका एक र टीकापुर नगरपालिकाका एक जना व्यक्तिमा सङ्क्रमण पुष्टि भएको अस्पतालको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।