धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको विषयमा गठन भएको छानविन समितिले आज प्रतिवेदन वुझाउँदै छ । राहत वितरणमा कुहिएको र किरा परेको चामल वितरण भएपछि गठन गरिएको छानबिन समितिले आज दिउँसो प्रतिवेदन बुझाउने तयारी गरेको छ । वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीको संयोजकत्वमा गठन भएको छानबिन समितिको प्रतिवेदन कस्तो आउला भन्ने जनचासो वढेको छ ।
धनगढी उपमहानगरपालिकाले राहत वितरणका लागि टेण्डर आह्वान गर्दा देखि नै मिलोमतो गरिएका समाचारहरु सञ्चार माध्यमहरुमा आईरहेका छन् । तर छानविन समितिले भने टेण्डर प्रक्रियामा कुनै समस्या नरहेको स्रोतले बतायो । समितिका अनुसार केही प्राविधिक र मानवीय क्रुटी भए पनि टेण्डरमा मिलोमतो र अनियमितता नभएको प्रतिवेदनमा उल्लेख गर्ने छ । कर्मचारी र जन प्रतिनिधिको सेटिङ भएको कुरा संग्लन कागजातमा नखुलेको कुरालाई छानविन समितिले आधार मान्नेछ ।
छानविन समितिले सवै विषयमा छानविन र अनुगमन गरेपछि धनगढी उपमहानगरपालिकालाई वुझाउन प्रतिवेदन तयार पारिरहेको छ । दिईएको तीन दिनको समय सीमा आज विहान पुगे पनि प्राविधिक कारण प्रतिवेदन तयार पार्न ढिलाई भईरहेको छ । तर आज जसरी पनि प्रतिवेदन तयार पारेर वुझाउने वुझाउने संयोजक मुरारी अधिकारीले बताए ।
वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी संयोजक रहेको छानविन समितिमा वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गिता पन्त सदस्य रहेका छन् । त्यसैगरी धनगढी उप–महानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्य सचिव रहेका छन ।