सुदूरपश्चिममा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४९२० पुग्यो, कहाँ कति ?
2020/08/08, 4:54
 
corona

शनिवार सुदूरपश्चिममा थप ११ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र नेपाल कोरिया मैत्री अस्पतालमा भएको परीक्षणमा सुदूरपश्चिममा ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय सात जनाको कोरोना परीक्षण भएकोमा कैलालीका चार र कञ्चनपुरका तीन जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको जोशीपुर गाउँपालिकाका चार पुरुष, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका दुई पुरुष र कञ्चनपुरकै भीमदत्त नगरपालिकाका वडा नम्वर ११ का ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। 

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा तीन जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। २४ घण्टामा तीन सय ७८ जनाको स्वाब परीक्षण गरिएकोमा तीन जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी भुषालले जानकारी दिए।

उनका अनुसार बझाङको केदारस्यू गाउँपालिका वडा नम्व्र ६ का २२, २३ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। उता नेपाल–कोरिया मैत्री अस्पतालमा भएको परीक्षणमा कञ्चनपुरका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार नौँ सय २० पुगेको छ।

सबैभन्दा बढि कैलालीका एक हजार दुई सय ७१ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ८४, अछाममा सात सय २९, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका पाँच सय ७५, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९६, बझाङका दुई सय ९५ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका तीन हजार नौ सय ३८ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।