यशुको नाम लिएर प्रार्थना गरे कोरोना लाग्दैन भन्दा भन्दै कोरोनाबाटै मृत्यु
2020/08/09, 5:51
 
corona

पोखरामा कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाएका ६२ वर्षीय पुरुषको आइतबार दिउँसो अन्त्येष्टि गरिएको छ । उनको मृत्युको करिब १५ घण्टापछि पोखरा–३२, रातोपहिरो घाटमा अन्त्येष्टि गरिएको हो ।

पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले महानगरले पहिलेकै स्थान पहिचान गरिसकेपछि नेपाली सेनाको सहयोगमा शव अन्त्येष्टि गरिएको हो । यसअघि पोखरामा ज्यान गुमाएका स्याङ्जाका दोस्रो संक्रमितको पनि सो स्थानमा शव गाडिएको थियो । सो स्थान सेती नदी नजिक पर्दछ । पहिलो पटक वडाको समन्वय बिनै शव अन्त्येष्टिका लागि ल्याइएको भन्दै स्थानीयले विरोध जनाएका थिए ।

उनीहरुले नाराबाजी गरेर बाटो छेकेका थिए । त्यसबेला प्रहरीले अश्रु ग्याँस हानेर अवरोध पन्छाउँदै जबर्जस्ती शव गाड्न मद्दत गरेको थियो ।  पोखरा– ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले भने ‘हामीहरुले शव गाड्ने विषयमा कुनै अवरोध गर्दनौं, पहिलो पटक हाम्रो समन्वय नभएकोमा त्यस्तो भएको हो । अब हुँदैन ।’ पोखरामै कोरोनाबाट भएको पहिलो मृत्युमा भने शव अन्त्येष्टि कार्यमा समस्या भएको थियो ।

स्याङ्जाकै एक पुरुषको शव पोखरा ११ र २० को सीमा सेती नदी किनारमा अन्त्येष्टिको लागि लगिएकोमा स्थानीयले विरोध जनाएका थिए । त्यसबेला प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । ती पुरुषले यशू ख्रीष्टको नाम लिँदै प्रार्थना गरे कोरोना नलाग्ने भन्दै आफ्नो निवासमा सर्वसाधारण बोलाएर प्रार्थना गर्ने गरेको स्थानीय बताउँछन् ।