सोमवार सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, नेपाल प्रहरी अस्पताल र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भेरी अस्पतालमा भएको परीक्षणमा कैलालीका दुई जनामा संक्रमण पुष्टि भएको बताए। उनका अनुसार नेपाल प्रहरी अस्पतालमा भएको परीक्षणमा अछामका एक जनामा पनि कोरोना देखिएको छ । यता सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा चार सय तीन जनाको कोरोना परीक्षण भएकोमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ का १९ र २२ बर्षीय युवकमा संक्रमण पुष्टि भएको हो । उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा भने एक जनामा संक्रमण देखिएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले एक सय ७९ जनाको कोरोना परीक्षण भएकोमा बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्वर १ का एक पुरुषमा संक्रमण पुष्टि भएको बताए ।
योसंगै सुदूरपश्चिममा कोरोना संंक्रमितको संख्या चार हजार नौँ सय ४१ पुगेको छ । सबैभन्दा बढी कैलालीमा एक हजार दुई सय ७८ जनामा संक्रमण पुष्टि भएको छ । डोटीका सात सय ९२, अछाममा सात सय ३०, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कञ्चनपुरका पाँच सय ७५, डडेल्धुराका तीन सय १२ जना, बैतडीका दुई सय ९८, बझाङका दुई सय ९५ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेशमा चार हजार बढी संक्रमित निको भएर घर फर्किसकेका छन् भने नौँ जनाको मृत्यु भएको छ ।