आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै
2020/08/11, 9:21
 
Krishna janmastami

श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ।

यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ। कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ।

विगतका वर्षहरुमा मुलुकभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण कृष्ण मन्दिरमा खासै चहल पहल छैन्।

शोभायात्रा निकाल्ने र झुला झुलाउने काम पनि नगर्न स्थानीय प्रशासनले आग्रह गरेका छन्।

पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि  शुभकामना व्यक्त गरेकी गिरेकी छिन्।

विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएको बताउँदै राष्ट्रपतिले  यस प्रकारका ऐतिहासिक सांस्कृतिक परम्पराले हाम्रो समाजलाई एकताका सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गरेकी छिन्।

राष्ट्रपति भण्डारीले श्रीकृष्णजन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी  भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी सबैमा शुभकामना पनि प्रकट गरेकी छिन्।