सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि
2020/08/13, 3:55
 
corona

सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि भएको छ। धनगढी र डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ७९ जनाको कोरोना परीक्षण भएकोमा ६ महिला र दुई पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी उप–महानगरपालिका वडा नम्बर १ का तीन पुरुष र कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का एक पुरुषमा संक्रमण पुष्टि भएको बताए। उनका अनुुसार अछामको साँफेवगर नगरपालिका वडा नम्वर ३ का दुई पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ७ र शुक्लाफाँटा नगरपालिका वडा नम्वर १ की एक/एक महिलामा संक्रमण पुष्टि भएको छ। 

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको छ। तीन सय ५२ जनाको स्वाब परीक्षण गरिएकोमा दुई जनामा संक्रमण देखिएको अस्पतालका प्रयोगशाला ईन्चार्ज ईश्वरी भुषालले जानकारी दिए। उनका अनुसार डोटीको दीपायल सिलगढी नगरपालिकाका एक पुरुष र बैतडीको सिगास गाउँपालिकाका एक पुरुषमा  कोरोना पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार नौँ सय ६९ पुगेको छ।

सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ८५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। डोटीमा सात सय ९५, अछाममा सात सय ३३, बाजुरामा ६ सय २२ र कञ्चनपुरमा ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डडेल्धुराका तीन सय १२, बैतडीका तीन सय एक, बझाङका दुई सय ९६ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका चार हजार ८३ जना डिस्चार्ज भएका छन् भने १० जनाको मृत्यु भएको छ।