सुदूरपश्चिममा १६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि, कोरोनाले ११ जनाको मृत्यु
2020/08/13, 8:11
 
corona

सुदूरपश्चिममा नेपाल प्रहरीका १६ जनालाई कोरोना संक्रमण देखिएको छ । बिहीबार धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थप तीन जना प्रहरीमा कोरोना पुष्टि भएसँगै कोरोनाबाट संक्रमित हुने प्रहरीको संख्या १६ पुगेको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संक्रमित हुने प्रहरीमा ४२ वर्षका दुई जना र ४४ वर्षका एक जना रहेको बताए । कैलाली प्रहरी प्रवक्ता डीएसपी प्रतिक विष्टले २० जना प्रहरीको परीक्षण गरिएकोमा तीन जनामा कोरोना संक्रमण देखिएको बताए ।

कोरोना संक्रमण देखिएका तीनै जनालाई आइसोलेसनमा राखिएको डीएसपी विष्टले जानकारी दिए । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तमराज सवेदीले सुदूरपश्चिमका विभिन्न जिल्लामा गरी कोरोनाबाट संक्रमित हुने प्रहरीको संख्या १६ पुगेको बताए । उनका अनुसार हालसम्म संक्रमित हुनेमा बाजुराका ६, कञ्चनपुरका ५, कैलालीमा तीन र अछामका दुई गरी १६ जना रहेका छन् । संक्रमितमध्ये २ जना कोरोना निको भएर फर्किसकेका छन् । यस्तै तीन प्रहरी बाहेक अन्य ७ जनामा कोरोना संक्रमण देखिएको छ । धनगढी र डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार १० जनामा संक्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा चार सय ७९ जनाको कोरोना परीक्षण गरिएकोमा ६ महिला र दुई पुरुष गरी ८ जनामा संक्रमण संक्रमण देखिएको हो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा तीन सय ५२ जनाको परीक्षण गरिएकोमा दुई जनामा संक्रमण देखिएको हो । योसँगै सुदूरपश्चिममा कोरोनाबाट संक्रमित हुनेको संख्या चार हजार ९ सय ६९ पुगेको छ । यसमध्ये सबै भन्दाबढी कैलालीमा एक हजार दुई सय ८५ जनामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, डोटीमा सात सय ९५, अछाममा सात सय ३३, बाजुरामा ६ सय २२ र कञ्चनपुरमा ५ सय ८०, डडेल्धुरामा तीन सय १२, बैतडीमा तीन सय एक, बझाङमा दुई सय ९६ र दार्चुलाका ४५ जना रहेका छन् । संक्रमितमध्ये चार हजार ८३ जना डिस्चार्ज भएका छन् । यस्तै बिहीबार मात्र एक जना संक्रमितको मृत्यु भएको छ । अछामको रामारोशन गाउँपालिका ५ का १८ वर्षीय युवकको कोरोनाबाट मृत्यु भएको हो । उनको साउन २८ गते ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको थियो । उनी मुटु रोगी थिए ।

योसँगै सुदुरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । १८ बर्षीय युवक कोरोनाले मृत्यु हुने दोस्रो कम उमेरका हुन् । बाजुरामा दुई बर्षीया सवैभन्दा कम उमेरकी बालिकाको मृत्यु भएको थियो । सवैभन्दा वढी कैलालीमा ५७ बर्षीया वृद्धको मृत्यु भएकोे छ । मृत्यु हुनेमा पनि सवैभन्दा वढी कैलाली जिल्लाका रहेका छन् । कैलालीमा कोरोनाबाट चार जनाको मृत्यु भईसकेको छ ।