बझाङ सदरमुकाम चैनपुर जोड्ने एक मात्रै खाड्पे बझाङ सडक बन्द छ । जयपृथ्वी राजमार्गको तमैलको जाले बगरमा सेती नदीले सडक कटान गरेको पाँच दिन बितिसक्दा पनि नखुलेको हो । भत्किएको सडक मर्मत नभएपछि जिल्लाभित्र चल्ने गाडी बीच बाटोमा नै रोकिँदा यात्रुलाई सास्ती भएको छ ।
सडक मर्मत गर्ने सडक डिभिजन कार्यालय बैतडीले काम छिटो छरितो नगरेका कारण समस्या भएको स्थानीयको आरोप छ । गएको सोमबार सेती नदीमा बाढी आएपछि तमैलको जाल्या बगरमा २० मिटर सडक नदीले कटान गरी भत्काएको थियो । सदरमुकाम जोड्ने सडक बन्द भएको पाँच दिन भइसक्दा पनि सम्बन्धित निकायले चासो नदिँदा समस्या भएको स्थानीय शिवराज रोकायाले बताए ।
अहिले चैनपुरबाट गएका गाडीहरु तमैलमा नै रोकिएका छन् । विथ्थडचिर बुंगल नगरपालिका लगायतका पालिकाबाट आएका गाडीहरु परीगालमा नै रोकिएका छन् । सडक बन्द हुँदा सदरमुकाम चैनपुरमा तराईबाट आयात हुने तरकारी र खाद्यान्न नआएपछि बजारमा दैनिक उपभोग्य वस्तुको समेत अभाव हुने देखिएको छ ।
सडक डिभिजन कार्यालय बैतडीका प्रमुख रमेश चौधरीले सडकमा बढी क्षति भएका कारण मर्मत गर्न केही समय लागेको बताउँदै अबको २÷३ दिनभित्र सडक खुल्ने जानकारी दिए ।