सुदूरपश्चिम प्रदेशमा झण्डै ४४ हजारको कोरोना परीक्षण गरिएको छ। प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ४३ हजार ८ सय २६ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । धनगढी प्रयोगशाला मार्फत २२ हजार एक सय ५९, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत १६ हजार दुई सय ३६ र डडेल्धुरा अस्पतालको प्रयोगशाला मार्फत ५ हजार दुई सय ४७ जनाको कोरोना परीक्षण भएको छ ।
निर्देशनालयका अनुसार अहिलेसम्म परीक्षणका लागि ४५ हजार ६ सय ७८ जनाको स्वाब संकलन गरिएकोमा एक हजार ८ सय ५२ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिले सम्म परीक्षण गरी झण्डै साढे ११ प्रतिशत अर्थात चार हजार नौ सय ७९ जनामा कोरोना पुष्टि भएको छ ।
सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ८९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। डोटीमा सात सय ९५, अछाममा सात सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डडेल्धुराका तीन सय १२, बैतडीका तीन सय एक, बझाङका दुई सय ९७ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका चार हजार एक सय ५७ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।