सुदुरपश्चिमका ६५ प्रतिशत घर परिवारमा राष्ट्रिय प्रसारणको बिजुली
2020/08/15, 8:45
 
bidhut

सुदुरपश्चिमका ६५ प्रतिशत घर परिवारमा राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ । मुलुकभर ८६.४४ प्रतिशत घर परिवारमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेकोमा सुदुरपश्चिममा ६४.६९ प्रतिशत घर दुरीमा विद्युत पुगेको हो । नेपाल विद्युत प्राधिकरणको तथ्यांक अनुसार राष्ट्रिय ग्रिड मार्फत सबैभन्दा बढी कञ्चनपुरमा र सबैभन्दा कम बझाङमा विद्युतीकरण भएको छ । सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र मार्फत राष्ट्रिय ग्रिड पुग्न नसकेका ठाउँमा सौर्य, लघु जलविद्युत (माईक्रो हाईड्रो) लगायत मार्फत पनि विद्युतीकरण गर्दै आएको छ ।

‘विद्युतको पहुँचमा वृद्धि भई अहिले देशभर ८६.४४ प्रतिशत पुगेको छ । सुदुरपश्चिममा पनि विद्युतको पहुँच बढेको छ ।’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने– ‘आगामी साढे दुई वर्षभित्र हरेक नेपालीको घरमा विद्युतको पहुँच पु¥याउने लक्ष्यका साथ विद्युतीकरण अगाडी बढाएका छौं, यसका लागि बजेटको जोहो भइसकेको छ ।’ एसियाली पूर्वाधार लगानी बैकले कम विद्युतीकरण भएका कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सहुलियतपूर्ण ऋण प्रवाह गर्दैछ । 

सुदूरपश्चिम प्रदेशमा ६४.६९ प्रतिशत विद्युतीकरण भएको छ । यस प्रदेशमा पर्ने ९ जिल्लामध्ये सबैभन्दा बढी कञ्चनपुरमा ९२.७९ प्रतिशत  र कम बझाङमा १०.२१ प्रतिशत मात्रै विद्युतीकरण भएको छ । ग्रिड पु¥याउन सम्भव नहुने स्थानहरुमा ब्याट्री स्टोरेज प्रणाली सहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु उर्जाको उपयोग गर्ने सरकारको योजना छ । हरेक नेपाली जनताको पहुँचमा विद्युत पु¥याउने सरकारको लक्ष्य पूरा गर्न र उपभोक्तालाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न हरसम्भव प्रयास गरिएको कार्यकारी निर्देशक घिसिङले बताए ।

सरकारले २०७९ (सन् २०२२) भित्रमा प्रत्येक घरधुरीमा विद्युत् सेवा पु¥याउने र चार वर्षभित्रमा प्रति व्यक्ति विद्युत खपतलाई ७ सय युनिट  पु¥याउने लक्ष्य राखेको छ । अहिले प्रति व्यक्ति ऊर्जा खपत २ सय ६० युनिट पुगेको छ ।  नेपाल विद्युत प्राधिकरणको तथ्यांक अनुसार राष्ट्रिय ग्रिड मार्फत सबैभन्दा बढी प्रदेश २ का घर परिवारमा विद्युतको पहुँच पुगेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा छ । प्रदेश २ मा राष्ट्रिय प्रसारण प्रणालीमार्फत ९९.०५ घरपरिवारमा विद्युत् पुगेको छ । प्राधिकरणले कर्णाली प्रदेशमा ३४.७४ प्रतिशत विद्युतीकरण गरेको छ । कर्णाली प्रदेशमा राष्ट्रिय प्रसारण प्रणालीबाट (ग्रिड) ३०.५७ र अफ ग्रिडबाट ४.१७ प्रतिशत विद्युतीकरण गरिएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला, जुम्ला, डोल्पा, कालिकोट र मुगुमा अहिलेसम्म राष्ट्रिय प्रसारण ग्रिड पुगेको छैन । प्राधिकरणले ती जिल्लामा माइक्रो हाइड्रोमार्फत विद्युत् आपूर्ति गरिरहेको छ । भौगोलिक कठिनाई तथा विकटताले गर्दा कर्णाली प्रदेशमा विद्युतीकरण चुनौतीपूर्ण रहेको घिसिङले बताए ।  

प्रदेश २ का ८ जिल्लामध्ये सिराहा, धनुषा, महोत्तरी, बारा र पर्सामा ९९ प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ ।  प्रदेश २ पछि बागमती प्रदेशमा सबैभन्दा बढी विद्युतीकरण भएको छ । बागमती प्रदेशमा ९४.४४ प्रतिशत विद्युतीकरण भएको हो । यस प्रदेशका काठमाडौं, भक्तपुर र नुवाकोटमा पूर्ण  विद्युतीकरण भएको छ । सिन्धुलीमा सबैभन्दा कम ६९.५१ प्रतिशत मात्रै विद्युतीकरण भएको छ ।  गण्डकी प्रदेशमा ९२.७९ प्रतिशत विद्युतीकरण भएको छ । यस प्रदेशका ११ जिल्लामध्ये स्याङजा र पर्वतमा पूर्ण विद्युतीकरण भएको छ । मनाङमा सबैभन्दा कम ६४ प्रतिशत मात्रै विद्युतीकरण भएको छ । लमजुङ, तनहुँ, कास्की, म्याग्दी र बाग्लुङमा ९० प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ । 

प्रदेश ५ मा ९१ प्रतिशत विद्युतीकरण भएको छ । प्रदेश ५ का १२ जिल्लामध्ये नवलपरासी, कपिलवस्तु र बर्दियामा ९९ प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ । गुल्मी, अर्घाखाँची र रुपन्देहीमा ९५ प्रतिशभन्दा बढी र रुकुम पूर्वमा सबैभन्दा कम ११.२५ प्रतिशत मात्रै विद्युतीकरण भएको छ । प्रदेश १ मा ८२.४३ प्रतिशत विद्युतीकरण भएको छ । प्रदेश १ मा पर्ने १४ जिल्लामध्ये सबैभन्दा बढी धनकुटामा ९७ प्रतिशत र सबैभन्दा कम सोलुखुम्बुमा १३.५५ प्रतिशत विद्युतीकरण भएको छ ।  झापा, मोरङ र सुनसरीमा ९० प्रतिशतभन्दा बढी विद्युतीकरण भएको छ ।  गत आर्थिक वर्ष २०७६÷०७७ सम्ममा प्राधिकरणका विद्युत् ग्राहक संख्या करिव ४२ लाख पुगेको छ । यो विगत ४ वर्ष अगाडिको तुलनामा करिव ४२ प्रतिशतले बढी भएको घिसिङले बताए । सामुदायिक र बुटवल पावर कम्पनीको समेत गर्दा विद्युतका कूल ग्राहक संख्या ४८ लाख पुगेको छ ।