संक्रमित बढे आईसीयू र भेन्टिलेटर पाईदैन, खै कहाँ छ सुदुरपश्चिममा भेन्टिलेटर ?
2020/08/16, 8:19
 
corona

नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ । ज्यान गुमाउनेको संख्या एक सय पुगिसकेको छ । कोभिडको संक्रमण बढेसँगै संक्रमितले उपचार नपाउने समस्या पनि थपिदै गएको छ । स्वास्थ्य मन्त्रालयले हरेक दिन गर्ने प्रेस बिफ्रिङमा पछिल्लो समय दोहोरिरहने कुरा एउटै छ ‘उपचारका लागि अस्पतालमा बेड नपाउन सकिन्छ, संक्रमणबाट बच्न व्यक्ति आफैँ सचेत हौँ ।’ स्वास्थ्य मन्त्रालयले भने जस्तै जनस्वास्थ्यविद्ले पनि अब उपचार नै नपाउने अवस्था आउन सक्नेतर्फ सचेत गराएका छन् । संक्रमितको संख्या अनुसार स्वास्थ्य पूर्वाधार नहुनु नै प्रमुख समस्या बन्न सक्ने देखिएको छ । 

छैन आवश्यकता अनुसार जनशक्ति, भेन्टिलेटर र आईसीयू
साउन महिना लागेपछि सङ्क्रमितको संख्या झन् ह्वात्तै बढेको छ । कोरोनाको गम्भीर बिरामी थप बढ्दै छन् । घना र बाक्लो बस्तीमा कोरोनाको सङ्क्रमण फैलिंदैछ । तर सङ्क्रमित धेरैले उपचार नै पाउन सकेका छैनन् । यो अवस्था अब झन् जटिल बन्ने स्वास्थ्य मन्त्रालयले नै स्वीकारेको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर श्रेष्ठ भन्छन– ‘हामीले सोचेभन्दा पनि अवस्था जटिल बन्दै गएको छ । यहि अनुपातमा सङ्क्रमण फैलने हो भने अब भेन्टिलेटर र आईसीयूमा उपचार पाउने सम्भावना नै हुँदैन ।’ अहिले सङ्क्रमितको संख्यासँगै सघन उपचार कक्ष आईसीयू तथा भेन्टिलेटर चाहिने बिरामीको संख्या पनि बढिरहेको उनले बताए । 

उनका अनुसार अहिले देशभरी दुई हजार छ सय वटा आईसीयू शैया र नौ सय वटा भेन्टिलेटर छन् । यी पनि धेरै काठमाण्डौ उपत्यका केन्द्रित छन् । आईसीयू, भेन्टिलेरसँगै सङ्क्रमितको उपचार गर्न डाक्टर सहित स्वास्थ्यकर्मीको अभाव हुने देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सुदुरपश्चिममा त झन अवस्था भयावह नै हुने देखिएको छ । केही आईसियु वेड भएपनि भेन्टिलेटर भने एक पनि छैन । 

अबको चुनौती र सरकारको तयारी
स्वास्थ्य मन्त्रालयले अहिलेको जटिल अवस्थामा चुनौतीका बाबजुत डाक्टर र स्वास्थ्यकर्मीको परिचालनलाई व्यवस्थापन गर्ने तयारी गरेको दाबी गरेको  छ । मन्त्रालयले जोखिम कम भएका ठाउँका स्वास्थ्यकर्मीलाई सङ्क्रमण फैलिरहेको ठाउँमा ल्याएर उपचार दिने तयारी गरेको छ । यस्तै कोरोना महामारीमा खटाउन मन्त्रालयले तालिम पनि दिईएको जनाएको छ । तर मन्त्रलयले भने जस्तो तयारीले मात्रै अब नपुग्ने देखिन्छ । उपचारमा खटिएका केही स्वास्थ्यकर्मीलाई नै संक्रमण भएको छ भने अग्रपङक्तिमा खटिएका अन्यलाई पनि संक्रमणको जोखिम उच्च छ  । कोरोनाको संक्रमण देखिएको सुरुकै दिनमा तयारी गर्न सरकार चुकेको जनस्वास्थ्यविद् बताउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डाक्टर बाबुराम मरासिनी गम्भीर लक्षण देखिन थालेलगत्तै अस्पतालको आईसोलेशन  वा भेन्टिलेटरमा जाने बिरामी बढेकाले तत्काल आईसोलेशन बढाउनु पर्नेमा जोड दिन्छन् ।  तर, बिरामीलाई तत्काल उपचारमा पुर्याउन सरकार गम्भीर भएको देखिंदैन । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारी भने आवश्यकता अनुसार सरकारी र निजी दुवै अस्पतालका उपलब्ध भएसम्मका पूर्वाधार  तयार गर्ने दाबी गर्छन् । 

बिरामीको बर्गीकरण गर्ने तयारी
संक्रमणदर बढेपछि सरकारले बिरामीको बर्गीकरण गर्ने तयारी समेत गरेको छ । सामान्य बिरामीलाई स्वास्थ्य मन्त्रालयले घरमै आईसोलेशनमा बस्न आग्रह गर्दै आएको छ । जटिल समस्या देखिएकालाई मात्रै अस्पतालमा उपचार गराउने सरकारको तयारी छ । अब सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर सामान्य बिरामी घरकै आईसोलेशनमा बस्न सक्छन् । स्वास्थ्य परीक्षण पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण छ भने मात्र गराउनु पर्छ । नतिजा पोजेटिभ आयो तर अवस्था सामान्य छ भने घरमै आईसोलेशनमा बस्नुपर्छ ।  त्यसका लागि संक्रमितहरुले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ । 

सुदूरपश्चिम सरकारका भेन्टिलेटर कहाँ हराए ? 
सुदूरपश्चिम प्रदेश सरकारले २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णयको पूर्ण कार्यान्वयन गर्न ढिलाई गरेको छ । सेती प्रादेशिक सहित प्रदेशका जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको चार महिना बितेपनि अझै पूर्ण कार्यान्वयन नभएको हो ।  प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले भेन्टिलेटर खरिद गर्ने सम्झौता गरेको दावी गरेको छ तर सम्झौता मिति र आपुर्ति गर्ने समय लुकाएको छ । ६० दिनभित्र २० भेन्टिलेटर आपूर्ति गर्ने गरी सम्झौता भएको बताइएको छ । उक्त अवधिमा आपुर्ति नभए कानून अनुसार आपुर्तिकर्तालाई कारवाही गर्ने दावी गरिएको छ ।

तर पहिलो कोरोना संक्रमित फेला परेको करिब पाँच महिना बित्दा समेत आवश्यक भेन्टिलेटर उपलव्ध नभएपछि जटिल बिरामीको उपचारमा समस्या हुने देखिएको छ । सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटर खरिद गर्ने प्रदेश सरकारले निर्णय गरेको थियो । गत चैत्र २७ गतेको सुदूरपश्चिम मन्त्री परिषद्को बैठकले २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको थियो । कोरोना भाईरसका जटिल बिरामीका लागि भेन्टिलेटर खरिद गर्ने प्रदेश सरकारले निर्णय गरेको थियो ।

प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख डाक्टर गुणराज अवस्थीले नेपाल सरकारको खरिद ऐन अनुसार प्रक्रिया अगाडी बढेको बताए । प्रदेश मन्त्री परिषद्ले सेती र महाकाली अस्पतालका लागि तीन÷तीन तथा प्रत्येक जिल्ला अस्पतालका लागि दुई÷दुई वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको हो । तर निर्णय भएको चार महिना बढि भएको छ । आपूर्तिकर्तासँग सम्झौता भएको दावी गरिएको छ । सम्झौता भएको आपूर्तिकर्ता र रकम भने बताईएको छैन् । कोरोना भाईरस (कोभिड–१९) का जटिल संक्रमितका लागि भेन्टिलेटरको आवश्यक पर्ने हुन्छ । तर प्रदेश सरकारले भने खरिद प्रक्रियामा ढिलासुस्ती गर्दै आएको हो । यसले गम्भीर कोरोना संक्रमितको उपचारमा समस्या हुने देखिएको छ ।

सेती अस्पतालका कोभिड १९ रोग उपचार विभाग प्रमुख डाक्टर शेरवहादुर कमरले कोरोना संक्रमितको २० प्रतिशत मानिस जटिल प्रकृतिका हुने र २० प्रतिशतको पनि पाँच प्रतिशतका लागि भेन्टिलेटरको आवश्यकता पर्न सक्ने बताए । श्वासप्रश्वासमा समस्या भएका संक्रमितका लागि भेन्टिलेटर आवश्यक हुने डाक्टर कमरले बताए । अहिले सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा पाँच, महाकालीमा तीन र डडेल्धरा अस्पतालमा दुई गरी १० वटा भेन्टिलेटर उपलव्ध रहेको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ ।  

घरमै कसरी बस्ने त आइसोलेशनमा ?

  • पर्याप्त प्रकाश आउने र हावा खेल्ने कोठालाई आईसोलेशन बनाउन सकिन्छ । 
  • उपचारको अवधिभरी कोठाबाट बाहिर जाने गर्नु हुँदैन । 
  • खानपानमा विशेष ध्यान  दिनुपर्छ भने पर्याप्त मात्रामा पोषिलो झोलिलो खानु पर्छ ।
  • आफूले प्रयोग गरेका भाँडा राम्ररी धोई पखाली गरी सुकाएर मात्रै पुनः प्रयोग गर्नुपर्छ ।
  • शौचालयल र स्नान गृह छुट्टै बनाउनुपर्छ । तर यो सम्भव नभए आफूले प्रयोग गरेपछि निर्मलीकरण गर्नु पर्छ ।
  • ढोका, चुकुल, टेबल लगायतका वस्तुलाई  नियमित निर्मलीकरण गर्नुपर्छ ।
  • हात धुने साबुन र पानीको व्यवस्ता गरी बेलाबेलामा हात धोइरहनु पर्छ ।
  • संक्रमितको हेरचाहका लागि प्रत्यक्ष हेरचाहमा खटिने व्यक्तीले मेडिकल मास्क पयोग गर्नुपर्छ ।
  • बच्चा गर्भवती, सुत्केरी र जेष्ठ नागरिकलाई संक्रमितबाट टाढा राख्नुपर्छ ।
  • संक्रमितको दिनमा तीन पटकसम्म ज्वरो नाप्ने गर्नुपर्छ ।
  • परिवारका सदस्यले दिनको दुई पटक संक्रमितको स्वास्थ्य अवस्थाकाबारे सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउने गर्नुपर्छ । 
  • यस्तै संक्रमितलाई सास फोर्न गाह्रो भए, अनुहार निलो भए, छाती दुखे वा अन्य कुनै जटिल अवस्था देखिए तुरुन्त स्वास्थ्यकर्मीलाई सम्पर्क  गर्नुपर्छ ।
 

स्वास्थय मन्त्रालयले अहिलेकै अवस्था जसरी बिरामी बढे उपचार गर्न नसकिने भन्दै घरमै आईसोलेशनमा बस्न आग्रह गरेको छ । अहिलेकै अवस्था झैँ बिरामी बढ्दै गए सरकारले तयारी गरेको आईसोलेशन र भेन्टिलेटरले थेग्दैन । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारी भन्छन्–‘हो, यसैगरी बिरामी बढिरहे सबैलाई आईसोलेशन वा भेन्टिलेटरमा उपचार सम्भव हुँदैन । अहिले नै अधिकांश अस्पताल भरिसकेका छन् । अब कोरोना संक्रमणलाई रोक्न व्यक्ति आफैँ नै सचेत हुनुपर्छ ।’