सुन र मोबाइल लुटेको झुटो हल्ला चलाइएपछि...
2020/08/16, 7:11
 
chain

बझाङको केदारस्युँ गाउँपालिका –७ भामचौरमा गहना र मोबाइल लुटिएको भनिएको घटना सार्वजनिक भयो। बिहान ३ बजे माइतीघरमा रहेका बेला शौच गर्न निस्किएकी भामचौरका सुरेश बोहराकी श्रीमती नारुलीलाई ‘चामल छर्केर’ बेहोस बनाई कानको आधा तोला बराबरको सुन र मोबाइल लुटियो भन्ने हल्ला चल्यो।

यति मात्र होइन उनको शिर र अनुहारभरि सिन्दुर तथा कालो मोसो दलिएको तस्वीरसमेत सार्वजनिक भयो। घटनाले जिल्लावासी र प्रहरीलाई समेत चकित बनायो। घटनाको पछिल्लो दिन प्रहरीले अनुसन्धान थाल्यो। अनुसन्धानका क्रममा पीडित नारुलीको बयान एकातिर, घटना अर्काेतिर देखिन थाल्यो। हुँदाहुँदा दिदीबहिनीकै कुरा बाझिन थाल्यो।

फोन कसलाई, कहिले गरेको भनेर नारुलीलाई प्रहरीले सोध्दा उनले जुन मिति बताइन्, कल डिटेल्स बुझ्दा अर्कै मिति देखियो।  यसले गर्दा सुन र मोबाइल लुटिएको भन्दा पनि लुटाएको भन्दै नारुलीमाथि शंका उब्जियो। यही उतारचढावका बीच ३१ साउनका राति नारुलीले श्रीमानसँग भनिन्, ‘घरको छानाबाट केही आवाज आयो, के रहेछ हेर्नुस् त !’

घरको छानामाथि हेर्दा कालो प्लास्टिकको झोलामा लुटिएको भनिएको सुन र मोबाइल भेटियो।