कर्मचारीमा कोरोना देखिएपछि ग्लोबल आईएमई बैंक दुई दिनका लागि बन्द
2020/08/17, 2:31
 
corona

धनगढीमा रहेको ग्लोबल आईएमई बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा सोमबार भएको परीक्षणमा धनगढी उप महानगरपालिकाको चौराहा नजिकै रहेको ग्लोबल आईएमई बैंकका एक कर्मचारीमा संक्रमण देखिएको हो ।

बैंकमा कार्यरत २६ वर्षीय युवकमा संक्रमण देखिएको हो । ती युवक धनगढी उप महानगरपालिका ४ मा डेरा गरी बस्दै आएका छन् । बैंकका व्यवस्थापक शम्भु जोशीले कर्मचारीमा संक्रमण देखिएको बताउँदै अन्य सबै कर्मचारीको समेत परीक्षण गरिने बताए । उनले सुरुमा तीन जना कर्मचारीको स्वाब दिएकोमा एक जनामा कोरोना देखिएको बताउँदै अब सबै कर्मचारीको कोभिड १९ जाँच गरिने बताए ।

कर्मचारीमा संक्रमण देखिएपछि दुई दिनका लागि बैंक बन्द गर्ने निर्णय भएको क्षेत्रीय प्रबन्धक मुकुन्द भट्टले बताए । उनले सम्पूर्ण कर्मचारीको पीसीआर जाँचपछि बैंक सेनिटाइज गरेर मात्रै सञ्चालन गरिने बताए ।