सुदुर पहाडमा बाढी पहिरोको वितण्डाः १० जनाको मृत्यु, १५ जना वेपत्ता
2020/08/19, 10:46
 
pahiro

सुदुरपश्चिमका पहाडी जिल्लामा लगातारको बर्षाले वाढी र पहिरो आएको छ । वाढी र पहिरोले वितण्डा मच्चाउँदा पहाडी जिल्लामा १०  जनाको मृत्यु भएको छ भने १७ जना वेपत्ता भएका छन् । चार जना घाईते भएका छन् ।  अछामको रामारोशन गाउँपालिकाका कैलाश खोलाले बगाएर ६ जनाको मृत्यु भएको छ ।

गएराति परेको अबिरल बर्षापछि आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर ५ सैनिबजारबाट वेपत्ता भएका मध्ये ६ जनाको शव फेला परेको हो । ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानीय देवेन्द्र थापाले बताए । यस्तै २ जनाको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको स्थानीय प्रकाश कुवँरले बताए । वाढीमा बगेर वेपत्ता भएका १५ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

जनप्रतिनिधि, प्रहरी प्रशासन, स्थानीयले उद्धार जारी राखेका छन् । जिल्ला सदरमुकामबाट झण्डै ७ घण्टा पैदल हिडेर लाग्ने भएकाले उद्धारका लागि पहल गरिरहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । 

उता अछामको छिमेकी जिल्ला  बाजुरा बाजुरामा मंगलबार राति भिषण वर्षा भएसँगै आएको बाढी र पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बाजुरामा पहिरो जाँदा एक जना महिलाको मृत्यु भएको छ । बाजुराको बुढीनन्दा नगरपालिकामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको हो । बुढीनन्दा नगरपालिका–६ स्थित घट्टमा रहेकी झिमु लुहारको पहिरोले बगाएर मृत्यु भएको हो । अविरल वर्षापछि आएको बाढी र पहिरोले कोल्टी बृहत खानेपानी, कोलकुलो सिंचाई, तल्लो सिंचाई कुलो, माझ कुलो पूर्ण रुपमा क्षती भएको बुढीनन्दा नगरपालिकाकी उपमेयर सृष्टि रेग्मीले जानकारी दिईन ।

बुढीनन्दा नगरपालिकाकी उपमेयर रेग्मीका अनुसार क्षतिग्रस्त कुलो तथा सिंचाई प्रणालीबाट बाढी तथा पहिरोले कोल्टीको दुई सय पाथी जमीन बगाएको छ भने जिउलाको दुई हजार सात सय र बगरको पाँच सय पाथी जग्गामा सिंचाई हुने गरेको थियो । 

खप्तड छेडेदह गाउँपालिका–५ डोगडीको बनकाँडामा घर माथिबाट पहिरो आउँदा ३ वर्षीया बालिका समिका बुढाको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए।  उनकी ६० वर्षीया आमा नन्दा देबी बुढा र ५ वर्षीया छोरी बिनिता बुढा गम्भीर घाइते भएको प्रहरी निरीक्षक ठगुन्नाले बताए। 

त्रिबेणी नगरपालिकास्थित मालागाड खोलामा आएको बाढीले १२ घट्ट एउटा गाडी हिड्ने काठको पुलसहित सयौँ बिगाह जमिन बगरमा परिणत भएको प्रहरी निरीक्षक ठगुन्नाले बताए। घटनास्थलतिर प्रहरी परिचालन गरिएको छ। कहाँ कति क्षति भयो प्रहरी पुगेपछि रिर्पोटका आधारमा एकीन हुने उनले बताए।
रातिको समय बुढिनन्दा नगरपालिका( ३ नुरीको आसपासका खोला नजिक पहिरो बगेपछि थुनिदै खोला बढ्दै बाढीले आएको हुन सक्ने बुढिनन्दा नगरपालिका( ३ का वडाअध्यक्ष राम बहादुरा बोहराले बताए।

पहाडी जिल्ला बझाङमा पनि  लगातारको बर्षाले पहिरो आएको छ । बुङगल नगरपालिका वडा नम्बर ५ मिडीमा पहिरो गएको हो । पहिरोमा परि ३ जना घाईते भएका छन भने दुई जना बेपत्ता भएका छन । जस मध्ये एक जना भाग्न सफल भएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ । घरमाथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर बगाएको हो ।

नेपाल प्रहरी र स्थानियको सहयोगमा पहिरोमा परि पुरिएका ३ जनाको उद्धार गरिएको छ भने दुई जना वेपत्ता छन् ।  प्रताप ताम्राकार रोजगारीको सिलसिलामा भारतको ब्याङलोरमा छन । पहिरोमा परेर ४० बर्षिया पिपला ताम्राकार, १८ बर्षकी छोरी सुनिता र १२ बर्षकी टिन्टी  ताम्राकार र १६ बर्षका अनिल ताम्राकार घाईते भएका छन । घाईते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । पहिरोका कारण १५ घर उच्च जोखिममा रहेको स्थानीय सुरेश कँवरले बताए ।

यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिंहले बझाङ जिल्लामा पहिरोका कारण दुई जनाको मृत्यु भएको जानकारी दिए। बुङगल नगरपालीका वडा नं ५ मिडीमा गयराती पहिरो गएको थियो। पहिरोमा परि चार जना घाईते भएका थिए भने २ जना बेपत्ता भएकोमा उनीहरुको शव फेला परेको प्रहरी वरिष्ठ उपरिक्षक सिंहले बताए।

एक हप्ता अघि मात्रै त्यहाँका स्थानी बासिन्दाहरूले मुचुल्का सहित आफुहरू जोखिममा रहेको भन्दै वडा कार्यालय र नगरपालिकालाई जानकारी समेत गरेको उनले बताए  । गाँउमाथि खोल्लेख लुयटी सडक खण्डबाट पहिरो गएको स्थानीयले जनाएका छन् ।