मोहनाले धार फेर्न थालेपछि ७ वर्षदेखि अधुरो धनगढी–राजघाट पुल प्रयोग विहीन हुने खतरा
2021/07/23, 3:20
 
aa

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ चटकपुरदेखि कञ्चनपुरको कृष्णपुर नगरपालिकाका वडा नम्बर ९ राजघाट जोड्ने पक्की पुल निर्माणधीन अवस्थामै रहेका वेला मोहना नदीले धार परिवर्तन गर्न थालेको छ । निर्माण कार्य सुरु भएको ७ वर्ष पूरा भएपनि पुल अधुरै रहेको अवस्थामा नीले धार परिवर्तन गरेपछि पुल बनेपछि प्रयोग विहीन हुने अवस्थामा पुगेको हो । 

सडक डिभिजन कार्यालय महेन्द्रनगरले मोहना नदीमा पर्ने पुल निर्माणका लागि ०७१ असार ३१ गते एलाइड एडभेञ्चरसँग ठेक्का सम्झौता गरेको थियो । तीन वर्षको अवधीमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भएकोमा ७ वर्ष पूरा हुँदा समेत पुल निर्माणको काम अधुरै रहेको छ । मोहना नदीले धार परिवर्तन गरेपछि थप समस्या भएको धनगढी उपमहानगरपालिकाका वडा नम्बर ३ का स्थानीय राजबहादुर ऐरले बताए ।

धनगढी र कृष्णपुरका स्थानीयको दैनिकीसँग जोडिएको उक्त पुल निर्माण नहुँदा सास्ती भइरहेको छ । मोहना नदी माथि निर्माणाधिन पुलको काम सम्पन्न भए धनगढी राजघाट १० मिनेटमा आवातजावत गर्न सकिने अवस्था रहेको छ । तर  अहिले भने कृष्णपुर राजघाट लगायतका स्थानीयले गुलरिया, अत्तरिया हुँदै धनगढी आउनु पर्ने बाध्यता रहेको छ ।

मोहना नदीमा निर्माणाधिन पुलको काम सम्पन्न नहुँदै सोही पुल प्रयोगविहीन हुने अवस्था सिर्जना भएको राजघाटका स्थानीय दीपेश घर्तीले बताए । नदीले राजघाट तर्फको जमिन कटान गरेपछि पुल भन्दा अगाडीबाट नदी बग्ने सम्भावना बढेको छ । दुई दिन अगाडिको वर्षापछि नदीमा आएको बाढीले कृष्णपुर राजघाट तर्फको जमिन कटान गरेको छ । सो भागमा तत्काल तटबन्ध नगरे नदी मानव बस्तीमा पस्ने जोखिम रहेको तथा नदी एकातिर र पुल अर्कोतर्फ हुने सम्भावना रहेको स्थानीय राजबहदुर खड्काले बताए ।

धनगढीको चटरपुरदेखि राजघाट जोड्ने पुलको लम्बाई एक सय २० मिटर मात्रै रहेको छ । निर्माण कम्पनी एलाइड एडभेञ्चरले अहिले निर्माण भइरहेको पुलको दुवैतर्फ एक सय मिटर लम्बाईमा ग्रावेल मात्रै हाल्ने जनाएको छ । ८ करोड ४२ लाखमा निर्माण भइरहेको पुल प्रयोगमा ल्याउनका लागि नदी कटानको जोखिमलाई रोक्नुपर्ने स्थानीयको माग छ ।
अबको एक महिनाभित्र पुल निर्माणको काम सम्पन्न गर्ने एलाइड एडभेञ्चरका सञ्चालक चन्द्रशेखर मल्लले दाबी गरे । निर्माण सम्झौताको ७ वर्षपछि पुलको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताए ।