सुदूरपश्चिमका केही स्थानमा भारी बर्षाको सम्भावना
2020/08/22, 8:00
 
badi

नेपालमा एक–दुई दिनयता मनसुन केहि मत्थर भए पनि बर्षा रोकिएको छैन । आज (शनिबार) पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

विभागका अनुसार आज राति देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।  

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यस वर्ष बाढी, पहिरो र डुबानका कारण धेरै जनाको ज्यान गइसकेको छ भने ठूलो भौतिक क्षति पुगेको छ ।