कैलालीमा साउन महिनामा लक्ष्यभन्दा बढी राजश्व
2020/08/22, 9:58
 
bhansar

कैलाली स्थित भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालयले आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यभन्दा बढी राजश्व उठाउन सफल भएका छन्। सत्ती भन्सार कार्यालय खक्रौला, कैलाली भन्सार कार्यालय धनगढी र आन्तरिक राजश्व कार्यालय कैलालीमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको हो।

सत्ती भन्सार कार्यालय खक्रौलामा साउन महिनाको राजश्व लक्ष्यभन्दा ५७५ प्रतिशत बढी असूली भएको छ। भन्सारले साउनका लागि रु ३६ लाख ३९ हजार  राजश्व उठाउने लक्ष्य राखेकोमा दुई करोड नौ लाख १४ हजार सङ्कलन भएको भन्सार प्रमुख रामराज प्रसाद चौरसियाले बताए।

‘‘भन्सार छली, चोरी पैठारी कम भएको छ’’, भन्सार अधिकृत चौरसिया भन्छन्, ‘‘दुई किलोमिटरमा सशस्त्र प्रहरी र भन्सारमा २४ सै घण्टा नेपाल प्रहरीको निगरानीले राजश्व सङ्कलन बढेको हो।’’ चौरसियाले नाकामा खुलारुपमा आवतजावत बन्द भएपछि आवश्यक सामान भन्सारकै बाटो आउने गरेकाले राजश्व वृद्धिमा थप सहयोग पुगेको बताए।

दुई वर्षअघि स्तरोन्नति भएको सत्ती भन्सारले गत आवभरिमा रु पाँच करोड ८० लाख ७ हजार मात्रै राजश्व उठाएको थियो। यस वर्ष रु ६ करोड सात लाखको लक्ष्य राखेको छ। ‘‘साउन महिनामा भन्सारबाट चामल धेरै निर्यात भएको छ’’,  चौरसियाले भने, ‘‘यसपटक कपडा, मोटर पार्टस् र हार्डवेयरका सामान धेरै आएका छन् जसले राजश्व बढेको छ। प्रहरी, प्रशासनको यस्तै सहयोग रहे तीन महिनामै वार्षिक लक्ष्य पूरा गर्न सक्छौँ।’’

कैलाली भन्सार कार्यालयले पनि पहिलो महिनामा लक्ष्यभन्दा बढी राजश्व उठाएको छ। साउन महिनामा रु ४८ करोड ३२ लाख राजश्व उठाउने लक्ष्य राखिएकोमा रु ५७ करोड ७२ लाख राजश्व उठेको भन्सार अधिकृत डिल्लीराज शर्माले बताए। 

लामो समयको लकडाउनले रोकिएको आयात बढेकाले राजश्व २० प्रतिशतले बढेको उनी बताउँछन्।, ‘‘यो अवधिमा चामल, गहँु, पापड भुजिया, दालमोठ जस्ता खाद्य वस्तुको आयात धेरै भएको छ।’’ यस्तै आन्तरिक राजश्व कार्यालय कैलालीले पनि साउन महिनामा लक्ष्यभन्दा २६ प्रतिशत बढी राजश्व उठाएको छ। साउनका लागि रु ५५ करोड २१ लाख ८२ हजार लक्ष्य राखेकामा रु ६९ करोड ५२ लाख ७८ हजार राजश्व सङ्कलन भएको प्रमुख कर अधिकृत चन्द्रकुमार श्रेष्ठले जानकारी दिए।