तीन दशकपछि डडेल्धुराका दुई सडक कालोपत्रे हुँदै
2020/08/31, 12:15
 
sadak

जिल्लास्तरमा महत्वपुर्ण सडक आयोजनाका रुपमा सडक निर्माण कार्य थालनी गरिएको तीन दशकपछि डडेल्धुराका दुईओटा सडकका मुख्य सडक खण्ड कालोपत्रे गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश गौरव आयोजना अन्र्तगत कञ्चनपुरको दैजी देखि डडेल्धुराको भित्रिमधेस क्षेत्रहुँदै बेलापुर भएर बैतडीको ढुंगाड क्षेत्र भएर बझाङको देउरा जोड्ने सडक आयोजना अन्र्तगतको पोखरा–बेलापुर र उग्रतारा–मेलौली सडक खण्ड अन्र्तगत समैजीदेखि भद्रपुरसम्मको सडक कालोपत्रे हुने भएको हो ।

जिल्लाका पुराना सडकको रुपमा रहेका सडक कालोपत्रे हुने भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । ‘चुनावका बखत सडककै नाममा राजनीति हुने भएपनि सडक कालोपत्रे त कहाँ सडकको स्तरोन्नतिसम्म पनि कसैको चासो हुँदैनथ्यो,’ नवदुर्गा गाउँपालिका–१ का लक्ष्मी कामीले दुखोसो पोख्दै भने–‘अहिले बल्ल सडक कालोपत्रे हुने भएको छ, निकै खुसी छौँ ।’

सडक निर्माण भएको २९ वर्षपछि कालोपत्रे हुने भएपछि आफू हर्षित भएको बताउँदै उनले अब नवदुर्गावासी सडकको पहुँचमा पुग्ने बताए । गाउँपालिकाको वृहत्तर विकासको लागि सडक प्रमुख प्राथमिकतामा रहेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले बताए । अध्यक्ष बिष्टले भने्– ‘कच्ची सडकले गर्दा गर्भवती महिला र दैनिक जसो कार्यालय आवत जावत गर्ने कर्मचारीलाई समस्या रहेको छ, अव केही राहत हुने भएको  छ ।’

सडक कालोपत्रे हुनेभएपछि स्थानीय कृषकहरुले सहजै कृषि उपज बजारमा पुगाउन सक्ने अध्यक्ष बिष्टले बताए । ग्रामीण र विकट क्षेत्रको रुपमा रहेको नवदुर्गा गाउँपालिका अन्तरगत दर्जनौ सडक कच्ची भएकाले स्थानीयले मार्का खेप्दै आइरहेको नवदुर्गा गाउँपालिका– १ का वडा अध्यक्ष भीमबहादुर बोहराले बताए ।  पोखरा–बेलापुर सडक २० करोड ४८ लाख ८५ हजार लागत र उग्रतारा मेलौली सडक २० करोड १२ लाख ३२ हजार लागतमा केएस कन्ट्रक्सन प्रा.ली.संग ठेक्का सम्झौता भएको हो । दुवै सडक १०÷१० किलोमिटर कालोपत्रे हुने पूर्वाधार विकास कार्यालय डडेल्धुराका डिभिजन प्रमुख रामचन्द्र खत्रीले बताए ।

कञ्चनपुरको दैजीदेखि बैतडीको ढुङ्गाड हुँदै बझाङ देउरा जोड्ने सडकको पोखरा–बेलापुर सडक खण्ड र उग्रतारा मेलौली सडकको समैजी भद्रपुर सडक तीन वर्षभित्र कालोपत्रे हुने सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहराले बताए । कालोपत्रे गरिने सडक आयोजनाहरुको आईतबार सिलान्यास गर्दै मन्त्री बोहराले भने–‘प्रदेश गौरवका योजनाहरुको ठेक्का सम्झौता भैसकेकाले समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनिलाई निर्देशन गरेका छौँ ।’ मन्त्री बोहराले पाँचबर्षभित्रै सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर एक हजार किलोमिटर पक्की सडक निर्माण गर्ने लक्ष्यका साथ द्रुत गतिमा काम भईरहेको जिकिर गरे ।