सुदूरपश्चिममा सरकारी लापरवाहीले कोरोना समुदायस्तरमा फैलिदै, स्थिति भयावह हुने खतरा
2020/09/03, 7:57
 
corona

आयातित संक्रमण, स्थानीय संक्रमण, सामुदायिक संक्रमण र भयावह गरी कोरोनाको संक्रमणलाई चार चरणमा विभाजन गरिएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस नेपालमा समेत अन्य देशबाट आयातित संक्रमण भएपनि अहिले सुदूरपश्चिममा कैलालीमा समुदायस्तरमा देखा पर्न थालेको छ । संक्रमणलाई स्थानीय र समुदाय स्तरमा फैलिनबाट रोक्दै महामारीको चरणमा प्रवेश गर्न नदिन सीमानाका बन्द गर्ने, भारत तथा तेस्रो मुलुकबाट फर्किनेलाई क्वारेन्टिनमा व्यवस्थापन गर्ने काम भएपनि तीन तहका सरकारबीच समन्वयको अभाव देखिदा स्थिति भयावह हुने खतरा वढेको छ । 

संघीय सरकारले सीमा नाकाबाट फर्किनेको उद्धार गर्ने, स्थानीय तहले उनीहरुलाई अनिवार्य आईसोलेसनमा बस्ने व्यवस्था मिलाउने र प्रदेशलाई परीक्षण गरी संक्रमणको अवस्था पत्ता लगाउने जिम्मेवारी दिईएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्की बताउँछन् । तर तीन वटै सरकारका निकायले आपसी समन्वय गरी प्राप्त जिम्मेवारीलाई कुसलता पूर्वक निर्वाह गर्न नसक्दा सुदूरपश्चिममा कोरोना संक्रमण समुदाय स्तरमा फैलिन थालेको छ । भारतसँग जोडिएका सीमानाका व्यवस्थित बनाउने काम स्थानीय प्रशासनको भएपनि लकडाउन खुलेपछि खुकुलो पार्दा भारतबाट आएकाहरु गाउँ गाउँ सम्म पुगिसकेका छन । 

उनीहरुको पहिचान गरी छुट्टै बस्ने व्यवस्था मिलाउनुपर्नेमा स्थानीय पालिकाहरुले लकडाउनमा सञ्चालन गरेका क्वारेन्टिन नै बन्द गरिदिएका छन् । प्रदेश सरकार मातहतका स्वास्थ्य कार्यालयले उनीहरुको नमूना परीक्षण गरी संक्रमितलाई छुट्याउनुपर्नेमा वेवास्ता गरेको आरोप लागेको छ । अझ स्थानीय तहहरुले त विद्यालय सञ्चालन गर्नुपर्ने कारण देखाएर क्वारेन्टिन बन्द गरिदिएका छन् । कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले भने संघीय सरकारको विद्यालय सञ्चालन गर्ने निर्णयका कारण यसअघि व्यवस्थापन गरिएका क्वारेन्टिन बन्द गरिएको बताए ।

उनले भारतबाट फर्किनेहरुको कुनै लेखाजाखा र नियन्त्रणमा स्थानीय प्रशासनले ध्यान नदिएको बताउँदै आफूहरु पनि त्यसमा चुकेको स्वीकार गर्दै अब थप कदम चालिने दावी गरे । अहिले समुदाय स्तरमा फैलिरहेको कोरोना भाईरसको स्थिती पत्ता लगाउन समेत स्थानीय तहहरुले चासो दिएका छैनन् । कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तीलाई खोज्ने जिम्मेवारी पनि स्थानीय तहको हो । कोरोना आशंकामा आफै अस्पताल पुग्ने र संक्रमितको सम्पर्कमा आएकाहरुको परीक्षण भईरहेपनि समुदायस्तरमा नमूना संकलनको काम नगरिएको हो । जसका कारण पनि स्थिती यकिन नहुँदा भित्रभित्रै कोरोना फैलिरहेको चेतावनी विज्ञहरुको छ । 

नीतिगत निर्णय र मापदण्ड बनाउने संघिय सरकारले पूर्ण अध्ययन बिना नीति बनाउँदा समस्या भएकोे छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले संघिय सरकारकै निकायले नीतिगत निर्णय गर्दा अन्यौलता सिर्जना गरिदिदा समस्या भएको गुनासो गरे । उनले शिक्षा मन्त्रालयले विद्यालय सञ्चालन गर्ने र गृह मन्त्रालयले क्वारेन्टिन व्यवस्थापन गर्न भन्दै निर्देशन दिदा समस्या भएको बताए । यस्तै संक्रमितको औषधी उपचार तथा अस्पतालहरुमा आवश्यक पूर्वाधारको व्यवस्थापन गर्ने जिम्मेवारी समेत प्रदेश सरकारले कुशलता पूर्वता निर्वाह नगरिएको आरोप लागेको छ । प्रदेशमा कोरोना संक्रमण फैलिएको पाँच महिना बितिसक्दा समेत कोरोनाका गम्भीर विरामीका लागि आवश्यक पर्ने आईसियु र भेन्टिलेटरको व्यवस्थापन गर्न सकेको छैन । 

भारतबाट आएकालाई सिधै घर पठाउँदा गाउँ गाउँ पुग्यो संक्रमण
भारतबाट फर्किएकाहरुलाई व्यवस्थापन गर्न नसक्दा सुदूरपश्चिममा कोरोना संक्रमित दिन–प्रतिदिन बढ्दै गएका छन् । भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा नराखी सिधै घर पठाउँदा सुदूरपश्चिममा संक्रमण फैलिरहेको चिकित्सकहरुले बताएका छन् । भारतबाट आउँदा नाकामा कुनै स्वास्थ्य परीक्षण नगरी प्रवेश गराइएको र क्वारेन्टिनमा समेत नराख्दा भयावह बन्ने जोखिम बढेको उनीहरुको विश्लेषण छ ।  भारतबाट फर्किएकालाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टिन राख्नु पर्ने भए पनि पछिल्लो समय त्यसो नभएकाले संक्रमणको जोखिम बढेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डा. गुणराज अवस्थीले बताए । 

‘भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा नराखी होम क्वारेन्टिनमा पठाउँदा संक्रमण जताततै फैलिएको छ । जोखिम अहिले एकदमै बढि छ’ उनले भने, ‘भारतबाट आउनेलाई व्यवस्थापन गर्न सकिएन भने संक्रमण भयावह हुन सक्छ ।’ कोरोना परीक्षणको दायरा बढाएर तत्काल संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्नेमा उनले जोड दिए । ‘कोरोना परीक्षणको दायरा फराकिलो बनाउनु अहिलेको आवश्यकता हो । संक्रमितको सम्पर्क आएकाहरुको तत्काल परीक्षण गरेर संक्रमण थप फैलिनबाट जोगाउनु पर्छ’ उनले भने ।  सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले भारतबाट आएकाहरुलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न स्थानीय तहलाई पत्राचार गरेको छ । भारतसँग खुला सीमा जोडिएको सुदूरपश्चिम सुरुदेखि नै जोखिममा छ । भारतमा रोजगारीका लागि गएका मानिसहरु स्वदेश फर्किने क्रम रोकिएको छैन । दैनिक एक दुई सय मानिस भारतबाट स्वदेश फर्किरहेका छन ।

प्रदेशभर झण्डै एक हजार मानिस क्वारेन्टिनमा छन् । भारतबाट आउने नागरिकलाई होम क्वारेन्टिनका नाममा सिधै घरमा पठाउँदा स्थितिले बिकराल रुप लिन थालेको हो । होम क्वारेन्टिनमा बस्ने सर्तमा पठाइएकाहरु गाउँमा खुल्लेयाम घुम्न थाले पछि संक्रमण गाउँ–गाउँमा पुगेको छ । सुरुमा सिमनाकामा सामान्य ज्वरो परीक्षण गरेर मात्रै नेपाल प्रवेश गराइन्थ्यो । त्यसपछि पनि नाकाबाटै सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राखेर कोरोना परीक्षण गरेर मात्रै घर पठाइन्थ्यो । तर अहिले भने परीक्षण बिना भारतबाट आइरहेका नागरिकहरूलाई धमाधम घर पठाइँदै छ । त्यसैले गर्दा सुदूरपश्चिमका विभिन्न ठाउँमा समुदायस्तरमा नै संक्रमण देखिएको छ ।

स्थानीय तहको लापरबाहीले कोरोना संक्रमण बढिरहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्की बताउँछन् । स्थानीय तहहरुले भारतबाट आएकाहरुलाई क्वारेन्टिनमा नराखी सिधै घर पठाउँदा संक्रमण तीव्र फैलिएको उनको दाबी छ । ‘क्वारेन्टिनमा राख्न भनियो तर पछिल्लो समय त्यस्तो गरिएन । अब सरकारले मात्र केही गर्न सक्दैन । सर्वसाधारण पनि सजग हुनुपर्ने बेला हो’ उनले भने । सुदूरपश्चिममा बिगतभन्दा अहिले कोरोना परीक्षणको दायरा फराकिलो भएको छ । कैलालीको सेती प्रादेशिक अस्पताल, डडेल्धुरा उप–क्षेत्रीय अस्पताल र जिल्ला अस्पताल डोटीबाट कोरोना परीक्षण भइरहेको छ ।

स्थानीय तह भारतबाट फर्किनेलाई क्वारेन्टिनमा राख्न असफल
भारतबाट फर्किएका नागरिकबाट कोरोना भाइरसको जोखिम बढी भएपनि कैलालीका स्थानीय तह क्वारेन्टिन व्यवस्थापनमा आनाकानी गर्न गरिरहेका छन । सामुदायिक विद्यालयमा क्वारेन्टिन व्यवस्थापन गरेका स्थानीय तहले अहिले बन्द गरिसकेका छन् भने निषेधाज्ञाको अवधीमा क्वारेन्टिन थप्ने बताएका थिए । तर कोरोना भाइरसको संक्रमण घटेपछि विद्यालय सञ्चालन गर्नुपर्ने भन्दै क्वारेन्टिन व्यवस्थापन गर्न स्थानीय तहले अटेरी गर्न थालेका हुन । अहिले पनि भारतबाट फर्किने क्रम पनि जारी रहेको र जिल्लामा संक्रमण पनि बढ्दै गएको अवस्थामा क्वारेन्टिन व्यवस्थापन नहुँदा समुदाय संक्रमणले भयावह रुप लिनसक्ने आशंका गरिएको छ ।

स्थानीय तह भने आफ्नै मातहतमा रहेका विद्यालयमा क्वारेन्टिन सञ्चालन गर्न पनि खुट्टा कमाईरहेका छन । भारतमा अहिले दैनिक ५० देखि ६० हजार कोरोना संक्रमित बढिरहेका छन् । सबैभन्दा बढी संक्रमण फैलिएको क्षेत्रबाट पनि त्रिनगर र गड्डाचौकी नाका हुँदै कैलाली भित्रिने क्रम जारी छ । तर उनीहरुलाई अहिले पनि सिधै घर पठाउँन थालिएको छ । जिल्लाका स्थानीय तहहरुले क्वोरेन्टिन व्यवस्थान नगरेकाले उनीहरु सिधै घर गईरहेका हुन् । गौरीगंगा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहले नगरपालिकामा आइसोलेसन मात्र रहेको बताए । ‘५० बेडको आइसोलेसन छ । भारतबाट फर्किएकाहरु अहिले होम क्वारेन्टिनमा बस्दै आएका छन् । नयाँ क्वारेन्टिन व्यवस्थापनका बिषयमा कुनै छलफल भएको छैन् ।’ उनले भने ।

कोरोनाको संक्रमण फैलिने दर कम भए सामुदायिक विद्यालयमा अध्ययन अध्यापन सुरु गर्ने भन्दै नेपाल सरकारले क्वारेन्टिन खाली गर्न निर्देशन दिएको दावी स्थानीय तहको छ । तर नेपाल सरकारले अन्य क्षेत्रमा क्वारेन्टिन व्यवस्थापन गर्न पनि निर्देशन दिएको थियो । अहिले फेरी संक्रमण दर बढेकाले विद्यालय तत्काल सञ्चालन हुने देखिएको छैन् । स्थानीय तहहरु आफ्नै मातहतमा रहेका विद्याालयहरुमा क्वारेन्टिन व्यवस्थापन गर्न खुट्टा कमाईरहेका छन् । गोदावरी नगरपालिककाका प्रवक्ता शर्मानन्द भट्टले क्वारेन्टिन व्यवस्थापनका विषयमा स्वास्थ्य शाखामा छलफल जारी रहेको बताए । उनले एक÷दुई स्थानमा क्वारेन्टिन व्यवस्थापनको लागि योजनामा नगरपालिका रहेको बताए ।

भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा राख्दै परीक्षण गर्न जिल्लाका स्थानीय तहले वेवास्ता गरेका हुन् । स्थानीय तहको लापरवाहीले भारतबाट आएका नागरिक सिधै घर पुगेका छन् भने उनीहरुबाटै समुदायस्तरमा कोरोनाको संक्रमण फैलिन थालेको छ । कोरोना संक्रमितको संख्या बृद्धि हुँदै गएपछि धननगढी उप–महानगरपालिकाले भने धनगढी रंगशालामा पुनःक्वारेन्टिन व्यवस्थाापन गरेको छ । वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले धनगढी रंगशालामा क्वारेटिन, बेलीमा आइसोलेसन र महिला मैत्री क्वारेन्टिन व्यवस्थापन गरिएको बताए । कैलालीमा अहिले ७९ जनालाई मात्रा अनिवार्य क्वारेन्टिनमा राखिएको छ । 

‘ट्रेसिङ’ र ‘टेस्टिङ’ सुस्त
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० मा ३१ जनामा कोरोना संक्रमण पुष्टि भयो । ती मध्ये १८ जना एउटै टोलका थिए । कतिपय परिवारका सबै सदस्यमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । तर, ४ दिनसम्म पनि न कन्ट्रयाक्ट ट्रेसिङ भएको छ न त समुदाय स्तरमा कोरोना फैलियो कि फैलिएन भनेर परीक्षणको दायरा नै बढाइएको छ । समुदायमा संक्रमण फैलन खतरा बढेपछि पुरै वडा सिल गरिएको छ । तर, त्यसपछि पनि ‘ट्रेसिङ’ र ‘टेस्टिङ’ मा भने ध्यान पुगेको छैन । सोही टोलका एक स्थानीयले आत्महत्या गरे । उनका परिवारका अन्य ५ जनामा सोमबार नै संक्रमण पुष्टि भइसकेको थियो । उनको रिपोर्ट भने नेगेटिभ आयो ।

तर, उनको दाहसंस्कारमा परिवारका सदस्यहरू सँगै अन्य व्यक्तिहरू रहेको हुँदा कन्ट्रयाक्ट ट्रेसिङ गरेर परीक्षणको दायरा बढाउनु पर्ने स्थानीय कृष्ण मिश्रले बताए । अहिलेसम्म कन्ट्रयाक्ट ट्रेसिङको काम हुन नसकेको उनले जानकारी दिए । ‘सानो ठाउँमा धेरैलाई संक्रमण पुटि भएको छ । उनीहरु को को सँग सम्पर्कमा आए भन्ने बारे पनि अहिलेसम्म कसैले चासो दिएका छैनन् ।’ मिश्रले भने ‘यसले समुदायमा संक्रमण फैलन खतरा बढेको छ । परीक्षणको दायरा बढाउन पर्छ ।’

कैलालीको घोडाघोडीमा हालसम्म ८९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तो बेला परीक्षणको दायरा बढाउनु पर्नेमा घोडाघोडीमा स्वाब संकलन कार्य नै बन्द भएको छ । नियमित खोप लगाउने कार्यक्रम सुरु भएका कारण ७ गते देखि १२ गतेसम्म स्वाब संकलन कार्य रोकिएको स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले जानकारी दिए । ‘हामीसँग पर्याप्त लग्जम्बर (स्वाब राख्ने भाँडो) छैन त्यसैले स्वाब संकलन रोकेका हौँ’ उनले भने ‘१२ गते पछि फेरी स्वाब संकलन सुरु हुन्छ ।’ जिल्ला स्वास्थ्य कार्यालयले भने पर्याप्त मात्रामा लक्जम्बर रहेको जनाएको छ । ‘लक्जम्बरको अभाव नहुनु पर्ने हो’ स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले भने ‘हामीसँग पर्याप्त लक्जम्बर छ हामीलाई उहाँहरूले माग्नु भएको छैन ।’ घोडाघोडीमा मात्रै होइन बर्दगोरीया गाउँपालिकामा पर्याप्त मात्रामा स्वाब संकलन हुन सकेको छैन । १० दिन अघि मृत्यु भएका बर्दगोरीयामा ४५ बर्षिय एक पुरुषमा ९ गते कोरोना संक्रमण पुष्टि भयो । मृतकको मलामीका करिब १ सय भन्दा बढि सहभागी थिए ।

बर्दगोरीया गाउँपालिकाले भने हालसम्म ४३ जनाको मात्रै स्वाब संकलन गरेको छ । ‘सबैको स्वाब संकलन गर्न सम्भव छैन ।’ स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशीले भने ‘पहिलो चरणमा संक्रमण देखियो भने थप परीक्षणको दायरा बढाउँछौँ । ’ उनले स्वाब संकलन नगरे पनि सबैलाई सचेत रहन सूचना जारी गरिएको बताए । हालसम्म बर्दगोरीमा ६१ जनामा संक्रमण पुष्टि भइसकेको छ । कैलालीमा हालसम्म ६ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । मृत्यु भएका मध्ये गोदावरी नगरपालिकामा मात्रै ३ जना छन् । कैलालीमा सबैभन्दा धेरै गोरावादीमा संक्रमित छन् । तर, त्यहाँ पनि समुदाय स्तरमा परीक्षणको दायरा बढ्न सकेको छैन । स्वास्थ्य कार्यालय कैलाली प्रमुख लालबहादुर धामी किट अभावका कारण ठूलो संख्यामा परीक्षण गर्न नसकिएको बताए । ‘पालिकाहरूले दैनिक ५ सय बढि किट माग गर्छन् तर, हामीले ५० पनि दिन सकेका छैनौँ ।’ उनले भने ‘त्यही भएर परीक्षणको दायरा बढ्न सकेको छैन ।’

संक्रमितको पिडाः सरकार कोरोना पुष्टि गर्छ अनि हराउँछ
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० मा भाद्र ८ गते २२ जनामा कोरोना संक्रमण पुष्टि भयो । तीमध्ये १८ जना एउटै टोलका थिए । एउटै टोलमा धेरै संक्रमितको संख्या फेला परेपछि गाउँ नै त्रसित बन्यो । टोलमा नगर सरकारले ठुलो संख्यामा संक्रमित त फेला पा¥यो तर न त उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी ग¥यो नत संक्रमितहरुको पुनः परिक्षण नै, ग¥यो त केवल देखावटी गाउँ सिल ।

सरकारको यस्तो लापर्वाही पुर्ण कामले आम नागरिकहरु चिन्तित बनेका त छन नै कोरोना संक्रमितहरु झनै पिडामा छन । सरकारले हचुवाको भरमा कोराना परिक्षण गर्ने तर संक्रमण पुष्टि भएपनि नभए पनि बेवास्ता गर्ने गरेको संक्रमितहरुको गुनासो छ । नगर सरकारले कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भयो । घोडाघोडीका एक संक्रमितले भने, “तत्पश्चात सरकारले नत कन्ट्रयाक्ट ट्रेसिङ ग¥यो नत हामीलाई सम्पर्क नै गरेको छ ।” संक्रमण पुष्टी भएको १६ दिन पुग्दा समेत नगर सरकारले कुनै चासो र चिन्ता नदेखाएको पिडितहरु बताउँछन । सरकारले कोरोना संक्रमित भन्दै समाजमा चिनाउने तर पछि हराउने गरेको उनीहरुको गुनासो छ । 

संक्रमितहरुको पुनः स्वाब परिक्षण, सम्पर्कमा आएकाहरुको पहिचान तथा स्वाब संकलन र संक्रमितहरुलाई परामर्श दिने बिषयमा सरकार बेखबर बनेकोे उनीहरु बताउँछन । ‘सरकारले कोरोना संक्रमित भनेर चिनायो, समाजले हामीलाई बसि खान दिएको छैन ।’ अर्का संक्रमितले भने, “हामीले आईसोलेशन अवधि पुरा गरिसकेका छौ तर अव संक्रमण मुक्त भयौ वा अझै संक्रमण कायम छ भन्ने बारेमा हामी अनविज्ञ छौ । सरकारले पुनः स्वाब परिक्षण गर्नु पर्ने हो तर हालसम्म गरेको छैन ।” सरकारले आफुहरुलाई बेवास्ता गरेको र आईसोलेशन अवधि पुरा गर्दा समेत समाजले बाटोमा हिड्न, कसै संग बोल्न, उपचारको पहुचमा जान तथा अत्यावश्यक समान खरिद गर्न अवरोध गरिरहेको संक्रमितहरुको भनाई छ । आफुहरुको स्वास्थ्य अवस्था बारे पुनः स्वाब परिक्षण गर्नुपर्ने उनीहरुको माग छ । 

यता घोडाघोडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावत भने स्वाव संकलन भएको १४ दिन पुरा भईसकेकाले संक्रमितको पुनः परिक्षण गर्न आवश्यक नहुने बताउँछन । नगरपालिकासंग भिटीएम (स्वास संकलन गर्ने भाडो) पनि नभएको र स्वास्थ्यका दृष्टिकोणबाट आवश्यक पनि नहुने उनको दाबी छ । ‘उनीहरु संक्रमित भएपनि १४ दिनपछि सामान्य मानिस जस्तै भईसके ।’ उनले भने,–“अव संक्रमित छौ भन्ने मानिसकता त्यागनुपर्छ । सामान्य मानिस जस्तै चहल पहल तथा कामकाज गर्न सकिन्छ ।”