कैलालीको त्रिनगर र कंचनपुरको गड्डाचौकी नाकाबाट अहिले पनि प्रवेश गरिरहेका नेपालीहरुलाई सिधै घर घर पठाइदैछ । विज्ञहरुले भारतबाट पठाएकालाई सिधै घर घर नपठाउन दिएको सुझाव लागू हुन सकेन । भारतबाट घर फर्केकालाई सिधै घर घर पठाइदा सुदूरपश्चिममा कोरोनाको संक्रमण समुदायमा देखिन थालेको छ ।
यसअघि भारत लगायत बाहिरबाट आएका र उनीहरुको सम्पर्कमा आएकालाई मात्र कोरोनाको संक्रमण देखिदै आएकोमा पछिल्ला दिनहरुमा समुदायका कोरोनाको संक्रमण देखा परेको छ । धनगढी उपमहानगरपालिकामा मात्र २ सय ३० जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६३ जना ट्राभल हिस्ट्री नभएका संक्रमित रहेको धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए ।
धनगढीमा ट्राभल हिस्ट्री नभएका एउटै परिवारका ५ जनासम्म संक्रमित भएका छन । ट्राभल हिस्ट्री नभएका शिक्षक, बैंकका कर्मचारी, प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मीहरु, सरसफाईमा संलग्न व्यक्ति तथा सर्वसधारणमा कोरोनाको संक्रमण देखा परेको छ। यसैगरि कैलाली, डोटी, अछाम, बझाङ, बैतडी, डडेल्धुरा लगायतका जिल्लामा ट्राभल हिस्ट्री नभएकाहरुमा धमाधम कोरोनाको संक्रमण देखा परिरहेको छ ।
‘समुदायमा कोरोना देखा परिसक्यो, ट्राभल हिस्ट्रि नभएका केशहरु बढ्दै गएका छन’ सेती प्रादेशिक अस्पताल कोरोना रोग उपचार बिभाग प्रमुख बरिष्ठ फिजिसियन शेरबहादुर कमर भन्छन्,‘भारतबाट आएकालाई सिधै घर घर पठाएकाले समुदायमा संक्रमण गएको देखिन्छ ।’ परीक्षण बढाएर समुदायमा रहेका संक्रमितलाई आइसोलेसन गर्नुपर्ने उनी बताउँछन ्।
परीक्षणको दायरा व्यापक रुपमा बढाएर संक्रमितहरुलाई आइसोलेसन गर्न सकेमा अझैपनि समुदायमा महामारीको चरणमा प्रवेश गर्नबाट रोक्न सकिने विज्ञहरु बताउँछन् । तर सरकार र सरोकारवालाहरुले त्यस किसिमको तयारी गरेको देखिदैन । सुदूरपश्चिममा सरकार र सरोकारवाला निकायको चरम लापरवाहीका कारण कोरोनाको संक्रमण समुदायमा पुगेको स्थानीय बताउँछन्।
तर अहिले पनि कोरोनाको संक्रमणको जटिलता हुन नदिनमा अपनाउन पर्ने सावधानी, क्वारेन्टिनको व्यवस्थापन, परीक्षणको दायरा वृद्धि, भेन्टिलेटर उपकरण लगायत थप पूर्वाधार जस्ता कुरामा आवश्यकता अनुसार तयारी र काम हुन सकेको देखिदैन । भारतबाट आएकालाई क्वारेन्टिनमा राखेर जाँच गरेपछि मात्र घर पठाइनु पर्ने विज्ञ तथा वरिष्ठ फिजिसियन डा. शुभेस राज कायस्थ बताउँछन्। ‘धेरै संक्रमण फैलिएको भारतबाट आएकालाई सिधै घर पठाइनु हुँदैन, भारतिय नागरिक समेत आउन दिएर समुदायमा मिसिन दिइराखिएको छ’ उनी भन्छन्,‘यसले समुदायमा कोरोको महामारी फैलिएर ठूलो संकट ल्याउने भएको छ ।’
परीक्षणको दयरा बढाएर समुदायमा जनरल रुपमा जाँच गरिनुपर्ने उनी बताउँछन्। ‘अहिले सम्म कोरोना संक्रमण भएको सम्पर्कमा आएकालाई मात्र जाँच गरिएको छ, समुदायमा रहेका व्यक्तिको जनरल रुपमा जाँच गरिनुपर्छ,’ उनी भन्छन्, ‘परीक्षणको दायरा बढाएर समुदायमा कोरोनाको महामारी फैलिन नदिन सरकारले ध्यान सकेको देखिदैन ।’ समुदायमा महामारीको रुपमा कोरोना फैलिएमा जटिल लक्षण भएका बिरामीको संख्या र मृत्युदर हवात्तै बढ्ने उनको भनाई छ । जटिल लक्षणको बिरामी बढेमा भयावह अवस्था हुने उल्लेख गर्दै सरकार र सरोकारवालाबाट परीक्षण बढाउने लगायतका गर्नुपर्ने काममा लापरवाही हुन नहुने उनी बताउँछन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले सुदूरपश्चिममा संकट निम्तिने गरि सरोकारवाला निकायबाट चरम लापरवाही र कमजोरी भैरहेको स्विकारे। भारतबाट फर्केकालाई क्वारेन्टिनमा राख्ने जिम्मा स्थानीय तहको भएको तर्क गर्छन्। तर तीन तहका सरकारको समन्वयको अभावका कारण भारतबाट आएकालाई क्वारेन्टिनमा नराखी घर पठाउने अवस्था बनेको हो।
जनशक्तिको अभावले परीक्षणको दायरा बढ्न सकेन
सुदूरपश्चिममा प्रत्येक दिन भारतबाट औसत रुपमा ३,४ सय प्रवेश गरिरहेका छन्। भारतबाट फर्केकाहरुको परीक्षण गर्ने गरिएको छैन । समुदायमा मास रुपमा परीक्षण गरिनुपर्ने विज्ञहरुले भनिरहेका वेला यहाँ परीक्षणको दायरा अझै बढाउन सकिएको छैन। संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरेर सम्पर्कमा आएका सवै व्यक्तिहरुको पनि समयमा परीक्षण हुन सकेको छैन । सुदूरपश्चिममा २ हजार भन्दा बढी नमुना परीक्षण हुन नसकेर थुप्रिएका छन् । एक मेशिनबाट बढाएर ४ वटा मेशिन संचालन भएपनि जनशक्तिको अभावले परीक्षणको दायरा भने बढ्न नसकेको हो । धनगढीमा २, डोटी र डडेल्धुरामा १,१ गरेर ४ मेशिन संचालनमा छन् ।
जनशक्तिको अभावले मेशिनको क्षमता अनुसार परीक्षण हुन नसकेकको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थी स्विकार्छन । ४ वटा मेशिनबाट २४ घण्टामा ४ हजार नमुना जाँच गर्न सकिने भएपनि जनशक्तिको अभावमा १ हजार ११ सय मात्र जाँच हुने गरेको उनी बताउँछन् । चैत १४ गते दुवईबाट फर्केका युवकमा सुदूरपश्चिममा पहिलो संक्रमण देखा परेको थियो । त्यसपछि चैत २२ मा ३ जना र बैशाख १ गते १ गरेर ५ जना संक्रमित निको भएर घर फर्कदा सुदूरपश्चिममा कोरोना संक्रमण नयाँ केस देखा परेको थिएन । जेठको शुरुदेखि सीमा नाकामा प्रवेश शुरु भएपछि भारतबाट नेपालीहरु घर फर्कन थाले ।
४० दिनपछि जेठ ९ गते दोश्रो चरणमा नयाँ संक्रमित केस देखा पर्यो । निषेधाज्ञामा पनि भारतबाट आउनेलाई स्थानीय तहसँग समन्वय गरेर गाडीमा उनीहरुलाई पठाउने गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर वोहराले बताए । ‘दिनमा २, ३ सय आइरहेका छन, उनीहरुको सवै बिवरण लिएर स्थानीय तहसम्म पठाउने गरेका छौं’उनले भने। सीमा नाकामा प्रवेश खुला गरेसँगै गत जेठबाट भित्रिन थालेकोमा अझै जारी छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले कोरानाको संक्रमण ब्रेक गर्न निषेधाज्ञा जारी गरिएको बताएका छन्। परीक्षणको दायरा बढाउने, संक्रमित भएका घरको परिवारका सदस्यको स्वाब संकलन गरेर जाँच गर्ने, पुनः क्वारेन्टिन संचालन गर्ने, आइसोलेसन शुरु गर्ने लगायतका विषयमा छलफल भैरहेको उनले बताए । यसैगरि समुदायमा जनरल जाँच गर्ने विषयमा पनि तयारी भैरहेको उनले बताए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुुदूरपश्चिममा अहिले सम्म ५ हजार ७ सय ६१ जनामा कोरोनाको संक्रमण देखिएको छ भने १४ जनाको ज्यान गएको छ । यिमध्ये ४ हजार ९ सय २९ जना निको भएर घर फर्किसकेका छन् ।