भारतीय सुरक्षाकर्मीले दादागिरी देखाएको सीमा नाका खुल्यो, रोकिएकाहरुलाई ल्याईयो पठाईयो (भिडियो सहित)
2020/05/21, 6:29
 
munna

भारतीय सुरक्षाकर्मीले दादागिरी देखाएको सीमा नाका केही घण्टाका खुलेको छ । दार्चुलाबाट नेपाल–भारत जोड्ने पुल बिहीबार केही घण्टाका लागि खोलिएको हो । यसअघि दार्चुलाको नेपाली सीमामा भारतीय सुरक्षाकर्मीहरुले ज्यादती गरेका थिए ।

सीमा क्षेत्रको नेपाल पट्टी आएर उनीहरुले दादागिरी देखाएर नेपाल प्रवेश गरिरहेका नेपालीहरुमाथि कुटपिट गरेका थिए । त्यसैगरी सीमा क्षेत्रमा तैनाथ तीन जना शसस्त्र प्रहरीलाई पनि हातपात गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । तर माहोल आपसी समझदारीमा शान्त पार्दै आवतजावत केही घण्टाका लागि खोलिएको   हो । 
सीमा नाका खोल्नुका तीन उद्देश्य छन्– लकडाउनले बेंसीमै अड्किएका व्यासी सौका समुदायलाई कुन्चा  (बसाई) सर्न दिने, सीमापारि रहेका नेपालीलाई भित्र्याउने र दार्चुलामा रहेका भारतीयलाई उनीहरूको देश फर्काउने । व्यास गाउँपालिका–१ का सौका समुदाय स्वदेशबाट बाटो नहुँदा भारत हुँदै तीन–चार दिन हिँडेर थातथलो फर्कनुपर्छ । व्यासी सौकालाई बसाइँ सर्न र नेपाल–भारतमा रोकिएका नागरिकलाई आ–आफ्नो देश फर्काउन दुवै देशका स्थानीय प्रशासनको समन्वयमा केही बेर खलंगास्थित अन्तर्राष्ट्रिय नाका खोलिएको सहायक प्रजिअ टेकसिंह कुँवरले बताए ।

चैत अन्तिमदेखि वैशाख पहिलो सातासम्म व्यास पुगिसक्ने कुन्चा यस वर्ष लकडाउनका कारण बेंसीमै रोकिएको थियो । चिसो मौसममा बस्ने पशु चौपाया हिमाली क्षेत्र जान नपाउँदा केही बेंसीमै गर्मीले मरेका थिए । भारतीय नागरिक समेत नेपालमा रोकिएकाले भारतीय प्रशासन पनि नाका खोल्न सहमत भएको हो । दार्चुला सदरमुकाममा ३० जना भारतीय नागरिक रहेको तथ्यांक जिल्ला प्रशासन कार्यालयसँग थियो ।

यही बेला भारतीय बजार क्षेत्र धारचुलामा रहेका नेपाली नागरिकलाई पनि नेपाल प्रवेश गराईएको प्रशासनले जनाएको छ । पहिले कुन्चा, त्यसपछि भारतीय नागरिक पठाईएको र अन्तिममा नेपाली नागरिकलाई नेपाल ल्याईएको छ ।