सहकारीबाट ८५ किलोको सेफ चोर्ने दाजुभाई पक्राउ
2019/09/19, 3:11
 
htyty

सहकारीबाट ८५ किलोको सेफ चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले सोमबार रामेछापका सुनिल थापा मगर र दानबहादुर थापा मगरलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका ती दुई जना दाजुभाइ हुन्। उपत्यकका विभिन्न ठाउँका सहकारी र वित्तिय संस्थाको ढोका फोडेर सेफसहित नगद चोरी गरेको घटना प्रहरीकहाँ आएपछि निगरानी बढाइएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए।

सोक्रममा २५ भदौमा पेप्सिकोला, टाउन प्लानिङमा रहेको हर्षित बचत तथा ऋण सहकारी संस्थाको ढोका फोडेर भएको चोरीमा दाजुभाइको संलग्नता देखिएको थापाले बताए। उनका अनुसार उक्त सहकारीबाट फलामको ८५ केजी बराबरको सेफ तथा त्यसमा रहेको ७ लाख ७९ हजार ९ सय ९२ रुपैयाँ चोरी भएको थियो। उनीहरूले अन्य व्यक्तिका कागजात लगायतका महत्वपूर्ण सरसामान पनि चोरी गरेको जनाइएको छ।

प्रहरीले उनीहरुको साथबाट चोरी गरी लगेको फलामको सेफ र फोड्न प्रयोग हुने रड, नगद ५३ हजार लगायत पनि बरामद गरेको छ। चोर्दा उनीहरुले लगाएको कपडा पनि बरामद भएको जनाइएको छ।