सम्झना कामी हत्या प्रकरणः राजेन्द्रले भने, मन्दिरभित्रको त्रिशूलले हिर्काएर मारेको हुँ
2020/09/30, 9:10
 
death

बझाङकी सम्झना कामीका हत्या आरोपी राजेन्द्र बोहराले मंगलबार राति हत्या आफैँले गरेको स्वीकार गरेका छन्। उनले मन्दिरभित्र रहेको त्रिशूलले हिर्काएर सम्झनाको हत्या गरेको स्वीकारेका हुन्। बझाङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार पत्रकार सम्मेलन गरिसकेपश्चात राजेन्द्रले आफैँले हत्या गरेको स्वीकार हुन्।

पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दा उनलाई हिनताबोध भएर हत्या स्वीकार गरेको हुनसक्ने डीएसपी खड्काले बताए। डिएसपी खड्काले भने, ‘हत्या आरोपित राजेन्द्र गयराति हत्या गरेको स्वीकार गरेका छ्न्। उनले सम्झनाको हत्या आफूले त्रिशूलले हानेर गरेको र उक्त हतियार मन्दिर छेउको एउटा रूखको जरामा लुकाइएको छ भनेर बयान दिएका छन्।

अहिले उक्त हतियारसहित घटनास्थलमा खटिएको सीआईबीको टोली चैनपुर आउँदैछ।’ गत बुधबार राति १२ वर्षीया सम्झना मष्टा दुई खिकालाबासीको पूज्य मन्दिर सिम मन्दिरभित्र अर्धनग्न अवस्थामा भेटिएकी थिइन्।  

आफन्तले बुझे शव

हत्यारा सार्वजनिक भएसँगै सम्झनाका आफन्तले पनि शव बुझेका छन्। हत्या भएको ८ दिनपछि आफन्तले जिल्ला अस्पतालबाट शव बुझेका हुन्। जिल्ला अस्पतालबाट सम्झनाको शव बुझ्दै गोरख कामीले दोषीलाई कारबाही हुन्छ भनेर आफूहरूले शव बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागि संर्घष जारी राख्ने बताए।

नेपाल सरकार गृहमन्त्रालयका सचिवले फोन मार्फत बालिकाका आफन्तलाई १० लाख रुपैयाँ दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामबहादुर सार्कीले बताए।