कैलाश मानसरोवर तिर्थ यात्रामा जाने झोलुङ्गे पुलको काम अन्तिम चरणमा
2020/10/07, 2:49
 
yatra

बझाङको साइपाल गाउँपालिका र उरै ताक्लाकोट क्षेत्र जोड्ने इमल्द्धार झोलुङ्गे पुलको ९० प्रतिशत काम सम्पन्न भएको छ। झोलुङ्गे पुलको खोदानको काम सम्पन्न भइ हाल दुबैतर्फ लठ्ठा अड्याउने पर्खाल निर्माण सम्पन्न हुन थालेको हो। केही दिनपछि लठ्ठा तानेर मसिंरभित्र पुल निर्माण भइसक्ने साइपाल गाउँपालिकाले जनाएको छ।

पुल निर्माणका लागि दुई महिना अगाडि भोपुरबाट हेलिकप्टरमार्फत पुल निर्माणका सामान ढुवानी गरिएको थियो। यो पुल निर्माण भएपछि साइपाल–भन्याङ् हुँदै ताक्लाकोट र कैलाश मानसरोवरको तिर्थ यात्रा लागि छोटो दुरी हुनेछ भने जडीबुटी संकलन र चरिचरन गर्न पनि सहज हुने साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए। 

इमल्द्धार पुल निर्माणका लागि १ करोड ६८ लाख लागत अनुमान गरिएको छ। यस पुलको निर्माण सम्पन्न भए लगत्तै फेरि दुई वटा झोलुङ्गे पुलको काम थालिने पनि अध्यक्ष धामीले बताए।