बैतडीमा गाउँपालिकाको केन्द्र सार्ने विवादः कुटपिट आक्रमण र रक्तपातसम्मको अवस्थामा पुग्यो 
2020/10/15, 1:46
 
kutpit

बैतडीमा गाउँपालिकाको केन्द्र सार्ने विषय चरमउत्कर्षमा पुगेको छ । जिल्लाको सुर्नया गाउँपालिकाको केन्द्रका विषयमा भएको विवाद बुधबार साँझ कुटपिटमा परिणत भएको छ । 

प्रहरीका अनुसार उक्त घटनामा गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट सहित ५ जना प्रहरी घाइते भएका छन । तर स्थानीयले भने झडपमा परी अध्यक्ष बिष्ट सहित ५ जना प्रहरी, ६ जना संघर्षरत पक्ष, ३ जना अध्यक्षसँग रहेका व्यक्ति गरेर १४ जना घाइते भएको बताएका छन । अहिले अध्यक्ष विष्ट उपचारका लागि घनगढी आएका छन् ।

गाउँपालिकाको माहोल शान्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । उनका अनुसार अहिले गाउँपालिकामा प्रहरी निरीक्षक धनदेव साउँदको नेतृत्वमा प्रहरी टोली खटिएको छ भने सशस्त्र प्रहरीको टोली पनि पुगेको छ । साथै उनले घटना घटाउनेहरुको खोजी भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याइ कारवाही गरिने बताएका छन् । ‘अहिले प्रहरीको टोलीले गाउँपालिकामा अनुसन्धान गरिरहेको छ। दोषीलाई कानुनी दायरामा ल्याइने छ’ उनले भने । 

देशमा स्थानीय तह आइसकेपछि सुर्नया गाउँपालिकाको वडा नम्बर ५ स्थित रौलेश्वरको कठ्यागौँडमा अस्थायी केन्द्र तोकेर कार्यसम्पादन भइरहेको थियो । त्यसपछि २०७६ पुष ६ गतेको कार्यपालिका बैठकले गाउँपालिका केन्द्रलाई वडा नम्बर ५ कै पविता भन्ने स्थानमा राख्ने निर्णय गरेको थियो । तर उक्त सर्वसम्मत पारित भएको निर्णयको कठ्यागौँडावासीले विरोध जनाएका थिए ।

असन्तुष्ट पक्षले संघर्ष समिति बनाएर विभिन्न समयमा विरोधका कार्यक्रम आयोजना गर्दै आएको थियो । कठ्यागौँडामै केन्द्र कायम गर्नुपर्ने माग सहित सर्वोच्च अदालतमा रिट समेत दायर भएको थियो । उक्त रिटमा सर्वोच्च अदालतले अन्तिम फैसला गर्न बाँकी रहेका बेला कार्यपालिका बैठकबाट निर्णय गरी केन्द्र सार्न खोजेको भन्दै असोज २६ गते गाउँपालिकाको केन्द्र संघर्ष समितिले कार्यालयमा तालाबन्दी गरेको थियो । 

सर्वोच्च अदालतमा गाउँपालिकाको केन्द्र सार्ने र भवन निर्माण गर्ने निर्णय विरुद्ध अदालतमा मुद्दा विचाराधिन रहेपनि त्यसलाई प्रभावित हुनेगरी केन्द्र सार्न खोजेपछि गाउँपालिकाको कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको संघर्ष समितिका सदस्य नरेन्द्र मडैले बताए ।  तालाबन्दी कायम रहेकै बेला यसै हप्ता बसेको कार्यपालिकाको बैठकले १५ लाख रकम नयाँ ठाउँमा केन्द्रको संरचनाका लागि छुट्याइएको भन्ने हल्ला बाहिर आएसँगै स्थानीय उम्लिएका थिए । 

सोही विषयमा मंगलबार र बुधबार गाउँपालिकाका पदाधिकारी र संघर्षरतपक्ष बिच छलफल भएपनि सहमति भएको थिएन । त्यसपछि  बुधबार साँझ गाउँपालिका अध्यक्ष बिरबहादुर विष्ट मुचुल्का तयार गर्दै ताला तोड्न कार्यालयको ढोकामा पुगेपछि उनीमाथि एक्कासी आक्रमण भएको थियो ।  उनीमथि ढुंगा प्रहार भएको थियो। जसबाट उनीसँग रहेका केही व्यक्ति, घटना साम्य पार्न खोज्ने प्रहरी घाइते भएका थिए ।  अहिले सबै घाइतेको अवस्था समान्य रहेको बताइएको छ । घटनाबारे गाउँपालिका अध्यक्ष बिरबहादुर विष्टसँग बुझन बारम्बार सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन सकेका छैनन ।  

यसैबिच सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टमाथि भएको आक्रमणप्रति नेपाली कांग्रेस बैतडीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेसले विज्ञप्ती जारी गर्दै कुनै विषयवस्तुको निर्णय लिनुपर्दा वैधानिक र कानुनी बाटो हुँदा हुँदै अमानवीय घटना हुनु दुर्भाग्यपूर्ण भएको जनाएको छ । 

ज्यान जान सक्ने हिसाबले घटाइएको सो घटनाको वास्तविक छानबीन गरी दोषीमाथि कडा कारवाही गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ । नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा यस्ता खालका घटनाहरुलाई निरुत्साहित हुने गरेर दोषी पत्ता लगाई कानुनी कारवाही गर्न आग्रह गरिएको छ ।  अध्यक्ष विष्ट नेपाली कांग्रेस बैतडीका सचिव हुन ।