आयुर्वेद स्वास्थ्य केन्द्र चिकित्सकबिहीन
2020/10/16, 4:08
 
aayurbed

 बैतडीको मेलौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सक नहुँदा समस्या भएको छ । जिल्लाको एक मात्रै आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सकको दरबन्दी भए पनि विगत तीन वर्षदेखि चिकित्सकबिहीन बनेको केन्द्रका सूचना अधिकारी हिक्मत चन्दले जानकारी दिए ।

आयुर्वेद चिकित्सक नहुँदा सबै सेवा प्रभावित भएको उनले बताए । ‘आयुर्वेद चिकित्सक नहुँदा विभिन्न सेवा प्रभावित भएका छन्’, उनले भने, ‘चिकित्सकले प्रदान गर्ने सेवा अरुले दिन सक्तैनन् । यसले सेवाग्राहीलाई मार परेको छ ।’ केन्द्रले अहिले पनि पञ्चकर्म, पूर्वकर्म सेवा सञ्चालन गरिरहेको भएपनि चिकित्सकको अभावमा ति सेवालाई प्रभावकारी बनाउन नसकिएको चन्दको भनाइ छ । 

आयुर्वेदिक उपचार पद्दति राम्रो भएपनि चिकित्सकको अभाव रहेको स्थानीय केशवसिंह भाटले बताए । ‘आयुर्वेदिक उपचारका नागरिकको आकर्षण छ’, उनले भने, ‘तर चिकित्सक नहुँदा हामीले केन्द्रबाट पाउने सेवा पाइरहेका छैनौं ।’