कैलालीमा फस्टाउँदै व्यवसायिक माछापालन
2020/10/17, 1:03
 
machhapallan

शेरबहादुर ऐर- एक वर्षअघिसम्म बाँझो रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ ए गाउँको १२ बिघा जमिन अहिले रुप फेर्न थालेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का युवा लक्ष्मी देवकोटाले सो बाँझो जमिन भाडामा लिएर अहिले व्यवसायिक माछापालन गरिरहेका छन् । उनले चार बिघा जग्गामा पोखरी बनाएका छन् । दुई वटा पोखरीमा मागुर जातको माछा हालेका छन् भने अर्को पोखरीमा स्थानीय जातका माछा राखेका छन् भने एक पोखरीमा पानी भरेर राखेका छन्। ‘१२ विघा जमिन भाडामा लिएको छु । अहिले चार बिघामा माछापालन शुरु गरेको छु’ उनले भने– अब कुखुरा, बाख्रा पालन पनि अघि बढाउने योजना रहेको छ । उनले अहिले एक लाख माछाका भुरा हालेका छन् । उनका अनुसार पोखरीहरूको संरचना निर्माण, भुरा र दाना लगायतका काममा ५० लाख रुपैया बढी खर्च भइसकेको छ । 
... 
गोदावरी नगरपालिका वडा नम्बर १४ का लक्ष्मण कुँवरले पनि धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा तीन वर्षदेखि व्यवसायिक रुपमा माछापालन गरिरहेका छन्् । उनले माछापालनबाट वार्षिक २० लाख रुपैयाँको हाराहारीमा आम्दानी हुने गरेको बताए । उनले सर्वोदय माध्यामिक विद्यालयको जग्गा १० वर्षका लागि भाडामा लिएर माछापालन शुरु गरेका हुन् । उनले रोहु, विगेट र पंगासिस जातका माछापालन गरिरहेको बताए । उनले चार बिघा जग्गामा चार वटा पोखरी बनाएका छन् । उनले भने– संरचना निर्माण गर्न ७० लाख रुपैया खर्च भयो । अहिले वार्षिक भुरा, दाना र अन्य गरि ९० लाख रुपैया जति खर्च भइरहेको छ । उनले अहिले एक लाख भुराहरू पोखरीमा राखेका छन् ।

1

धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा पछिल्ला केही वर्षयता व्यवसायिक माछापालन व्यवसाय फस्टाइरहेको छ । धनगढी उपमहानगरपालिकाका पशु विकास शाखाका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा छ दशमलव ४७ हेक्टर जग्गामा नयाँ पोखरी निर्माण र आठ दशमलव ५४ हेक्टर जग्गामा पोखरी मर्मत गरिएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७६÷७७ मा तीन दशमलव ६८ हेक्टर नयाँ पोखरी निर्माण भएको छ भने चार दशमलव छ हेक्टर जग्गामा पोखरी मर्मत गरिएको छ । उपमहानगरपालिकाको पशु विकास शाखा अधिकृत पदमबहादुर रौलेले पछिल्लो समय माछापालनमा आकर्षण बढ्दै गएको बताए । उनले भने– माछापालनमा आकर्षण बढेको छ । यही क्रमले अघि बढ्ने हो भने नगर मात्र नभई प्रदेशलाई नै माछामा आत्मनिर्भर बनाउन सकिन्छ ।

2

मत्स्य विकास केन्द्रका अनुसार कैलालीमा हाल दुई सय हेक्टरमा व्यवसायिक माछापालन हुँदै आएको छ । कैलालीमा वार्षिक नौ सय मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । केन्द्रका प्रमुख सूर्य शाहीले वार्षिक १० प्रतिशतले नयाँ पोखरी निर्माण भइरहेको बताए । उनका अनुसार एक हेक्टरमा साढे चार मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । कैलालीमा व्यवसायिकसंगै प्राकृतिक तालमा पनि माछापालन हुँदै आएको छ । जिल्लामा एक हजार २८ हेक्टर प्राकृतिक ताल रहेका छन् । उनले भने– प्राकृतिक तालमा प्रति हेक्टर दुई मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रति व्यक्ति प्रति वर्ष १८ किलो माछा आवश्यक रहेको छ । मत्स्य विकास केन्द्रका अनुसार कैलालीमा प्रति व्यक्ति प्रति वर्ष दुई किलो माछा पूर्ति भइरहेको छ ।

समस्यामा माछापालक
माछापालनतर्फ आकर्षण बढ्दै गए पनि माछापालक किसानहरुले विभिन्न समस्या झेलिरहेका छन । माछापालक किसानको प्रमुख समस्या हो– बजार अभाव । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा माछापालन गरिरहेका किसान लक्ष्मण कुँवरले भने– माछा उत्पादन गर्छौ, तर बजारमा पुर्याउन समस्या छ । उनले किसानले उत्पादन गरेका माछ सजिलै बजारसम्म पुर्याउन स्थानीय, प्रदेश र संघिय सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । माछापालकलाई बजारसंगै उनीहरुले प्राविधिक जानकारी प्राप्त गर्न पनि समस्या रहेको छ । माछापालक किसान कुवरले भने– हामी माछापालन त गरिरहेका र्छौ, तर यससम्बन्धी प्राविधिक ज्ञान दिने दक्ष जनशक्ति सहजै उपलब्ध हुनैन ।

1

अर्का माछापालक किसान लक्ष्मी देवकोटाले दाना अभावको समस्या पनि किसानहरुले झेल्नु परिरहेको बताए । माछापालक किसानहरुका आ–आफनै समस्या भए पनि सरकारले भने किसानका लागि अनुदानबाहेक अन्य कार्यक्रम ल्याउन सकेको छैन । धनगढी उपमहानगरपालिका पशु विकास शाखाका अधिकृत रौलेले भने– यस वर्षको बजेटमा माछापालक किसानका लागि बजार व्यवस्थापन सम्बन्धी विशेष कार्यक्रम ल्याउने योजना थियो, तर बजेट अभावका कारण माछापालन सम्बन्धी कुनै पनि कार्यक्रम समेटिएनन् । 
सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा उत्पादन गरिएका माछाहरु स्थानीय बजार र पहाडी जिल्लामा विक्री वितरण भइरहेका छन् । अहिले कैलाली र कञ्चनपुरमा बढ्दै गएको माछापालनले केही हदसम्म भारतबाट आयात हुने माछालाई प्रतिस्थापन गरेको केन्द्रका प्रमुख शाहीले बताए ।

किसानले पाउँदैनन कृषि मिटर
राज्यको नीति छ– कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, तर कृषकलाई सिंचाई, मल र बीउको अभावले सधैं सताइरहन्छ । देशको अधिकांश क्षेत्रका किसान खेतीका लागि वर्षाको पानीमा निर्भर हुन्छन् कि त विद्युतीय मोटर पम्पको प्रयोग गरी जमिनको पानी तान्ने गर्दछन् । विद्युतीय मोटरबाट पानी तान्दा महंगो पर्ने गरेको किसानको गुनासो छ । माछापालनमा मोटर पम्पको प्रयोग बढी हुन्छ । कृषि मिटरमार्फत विद्युतीय मोटर प्रयोग गर्दा किसानहरुले मिटर बिल निःशुल्क पाउने गर्छन् ।

1

माछापालक किसान कँुवरले भने– कृषि मिटर जडान गरिदिन विद्युत प्राधिकरणमा पटक–पटक निवेदन पेश गरे, तर अहिलेसम्म सुनुवाई भएन । उनले कृषि मिटर नहु“दा शुरुमा जेनेरेटरबाट मोटर पम्प चलाएको बताए । उनले भने– जेनेरेटरमा डिजेल खर्च अत्याधिक खर्च भयो, त्यसैले अहिले सोलार मार्फत मोटर पम्प चलाइरहेको छु ।’