बैतडीमा गाउँपालिका अध्यक्ष कुटपिट घटनाः आठ जना विरुद्ध जाहेरी दर्ता, २ जना स्थानीय पक्राउ
2020/10/19, 7:53
 
kutpit

बैतडीको सुर्नयाँ गाउँपालिका अध्यक्षमाथि कुटपिट भएको घटनालाई लिएर आठ जना बिरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ । गाउँपालिका अध्यक्ष बिरबहादुर बिष्टका आफन्तले आठ जना विरुद्ध जाहेरी दिएको बैतडीका प्रहरी नायब उपरिक्षक नारायण अधिकारीले जानकारी दिए ।

आठ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएपछि प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको अधिकारीले बताए । जाहेरी दर्ता भएसँगै प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । अस्थायी केन्द्र भएकै ठाउँमा केन्द्र राख्नुपर्ने भन्दै संघर्ष समिति गठन गरेर आन्दोलन चर्काएका समितिका संयोजक अर्जुन मडै र सदस्य भरत मडैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न सबैमाथि अनुसन्धान हुने र दोषीमाथि कारवाही अघि बढाईने प्रहरीले जनाएको छ । सुर्नया गाउँपालिकाको केन्द्र खोला वारि नै राख्ने कि पारि सार्ने भन्ने बिषयमा झडप हुँदा गत असोज २९ गते पालिका अध्यक्ष बिष्ट सहित चार जना प्रहरी र आठ जना अन्य सर्वसाधारण घाइते भएका थिए ।