सुदूरपश्चिममा एकैदिन थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ । दुई जना कोरोना संक्रमितको धनगढीमै मृत्यु भएको हो । उनीहरुमध्ये एक जना कञ्चनपुरका र अर्का दार्चुलाका पुरुष रहेका छन् ।
धनगढीमा रिर्पोट नेगेटिभ आएपछि भेन्टिलेटरबाट निकालिएका कोरोना संक्रमितको मृत्यु भएको छ । रिर्पोट नेगेटिभ आएपछि भेन्टिलेटरबाट निकालिएका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ का ३८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत उनमा असोज २४ गते संक्रमण पुष्टि भएको थियो ।
सोही दिनदेखि अस्पताल भर्ना भएका उनको रिर्पोट नेगेटिभ आएपछि सोमबार जनरल आइसियुमा सारिएको थियो । आइसियुमा सारेपछि ती पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनको रिर्पोट नेगेटिभ भएकाले सोमबार नै शव आफन्तले बुझेको अस्पतालले जनाएको छ ।
उता कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा दुहुँ गाउँपालिका–२ हिकिलाका ५३ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । चार दिन पहिले ज्वरो संगै श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए ।
उनको मृत्यु भए पछि गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको भट्टले बताए । मृतकको शव नेपाली सेनाले कैलालीको तेघरीमा व्यवस्थापन गरेको छ । सुदूरपश्चिममा संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय तहहरु धमाधम सिल गरिएका छन् । दशैं तिहारलाई लक्षित गर्दै विभिन्न जिल्लाहरुमा निषेधाज्ञा पनि जारी गरिएको छ ।