सुदूरपश्चिममा थप ७३ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु, संक्रमितको संख्या ९११० पुग्यो
2020/10/20, 7:11
 
corona

सुदूरपश्चिममा थप ७३ जनामा कोरोना पुष्टि भएको छ । विभिन्न चार वटा अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार ७३ जना थपिएका हुन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा मंगलबार थप ४८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घन्टामा ४ सय ८४ जनाको नमुना परिक्षणमा थप ४८ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार  धनगढी कैलालीका १९ जना, जानकी गाउँपालीकाका ४ जना, गोदावरी र टिकापुरका ३,३ जना, भजनी र लम्की चुहाका १, १ जनामा संक्रमण पुष्टी भएको छ । कञ्चनपुरको बेदकोटका ६ जना, भिमदत्त र लालझाडीका ३, ३ जना, शुक्लाफटा र कृष्णपुरका एक एक जना रहेका छन् ।  दार्चुलाको दुुहुका एक र डडेल्धुराका एक जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको छ । १४५ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ४ जना र आदर्श गाउँपालिका ४ जना गरी ८ जनामा कोरोना संक्रमण भेटिएको बताए । त्यसैगरी अछामको कमलबजारमा गरिएको परीक्षणमा १० जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा र बैतडीका थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको छ । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले डडेल्धुराको अमरगढी नगरपालिकाका ५ जना, गन्यापधुरा गाउँपालिकाका १ र बैतडीको डिलाशैनी गाउँपालिकाका  १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७३ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएको छ । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या नौ हजार एक सय १० पुगेको छ । 

यस्तै मंगलबार सुदुरपश्चिममा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । 

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ । दुई जना कोरोना संक्रमितको धनगढीमै मृत्यु भएको हो । उनीहरुमध्ये एक जना कञ्चनपुरका र अर्का दार्चुलाका पुरुष रहेका छन् । 

धनगढीमा रिर्पोट नेगेटिभ आएपछि भेन्टिलेटरबाट निकालिएका कोरोना संक्रमितको मृत्यु भएको छ । रिर्पोट नेगेटिभ आएपछि भेन्टिलेटरबाट निकालिएका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ का ३८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत उनमा असोज २४ गते संक्रमण पुष्टि भएको थियो ।

सोही दिनदेखि अस्पताल भर्ना भएका उनको रिर्पोट नेगेटिभ आएपछि सोमबार जनरल आइसियुमा सारिएको थियो । आइसियुमा सारेपछि ती पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनको रिर्पोट नेगेटिभ भएकाले सोमबार नै शव आफन्तले बुझेको अस्पतालले जनाएको छ ।

उता कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा दुहुँ गाउँपालिका–२ हिकिलाका ५३ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । चार दिन पहिले ज्वरो संगै श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए ।

उनको मृत्यु भए पछि गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको भट्टले बताए । मृतकको शव नेपाली सेनाले कैलालीको तेघरीमा व्यवस्थापन गरेको छ । सुदूरपश्चिममा संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय तहहरु धमाधम सिल गरिएका छन् । दशैं तिहारलाई लक्षित गर्दै विभिन्न जिल्लाहरुमा निषेधाज्ञा पनि जारी गरिएको छ ।