सीमामा हत्या गरिएका प्रहरी जवान साउँदको अन्त्येष्टि
2020/10/21, 2:51
 
hatya

हत्या गरेको अवस्थामा भेटिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी जवान रामबहादुर साउदको अन्त्येष्टि गरिएको छ । साउदको अछामको कैलाश खोलामा शोक सलामी सहित अन्त्येष्टि गरिएको हो । प्रहरी सहायक निरीक्षक रमेश भट्टको टोलीले साउदलाई शोक सलामी दिएको हो । अछामका प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रसिह थापाले साउदको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाउदै अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

1

गत शनिबार नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकसँगै वेपत्ता भएका प्रहरी जवान साउँदको शव मंगलबार मोहना नदीमा गाडेको अवस्थामा फेला परेका थियो । प्रहरी सहायक निरीक्षक बिकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल उनको शव भेटिएको थियो । बिकको भने आईतबार बिहानै शव भेटिएको थियो । उनको कञ्चनपुरको दोदा नदीमा अन्त्यष्टि भईसकेको छ । 

दुवै जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरिसकेको छ । उनीहरु मध्ये ७ जनाले अपराध स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको थियो भने एक जनालाई बुधबार पक्राउ गरिएको छ । केही व्यक्ति अझै फरार रहेकाले खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।