धनगढी– ‘धनगढीस्थित अस्थायी प्रहरी चौकी जुगेडाका प्रहरी सहायक निरिक्षक गोविन्द विक र प्रहरी जवान रामवहादुर साउँदको हत्यामा संलग्नहरु मटर तस्कर हुन् भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले सात जना आरोपितलाई सार्वजनिक गर्दै भनेका थिए।
नेपालबाट भारत मटर तस्करी गर्न दुबै जना प्रहरीले अवरोध गरेपछि असई र जवानको हत्या भएको आशय उनको थियो। तर नेपालबाट भारत मटर तस्करी गर्ने मुख्य नाईके को हुन् ? भन्ने प्रश्नको जवाफ प्रहरीसंग पनि छैन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्ष दिलिपसिंह देउवाले मटर कस्को हो ? भन्ने प्रश्नमा अहिले नै खुल्न नसकेको बताए।
‘अहिले हाम्रो सम्पूर्ण ध्यान हत्यामा प्रत्यक्ष संलग्न भएकाहरुको खोजीमा केन्द्रित छ। प्रत्यक्ष संलग्न सबै पक्राउ गरेपछि उनीहरुको बयानको आधारमा थप संलग्नको समेत खोजी हुन्छ। मटर कस्को हो भन्ने विषयमा पनि अनुसन्धान हुन्छ।’ प्रहरी उपरिक्षक देउवाले भने।
यता सुदूरपश्चिम प्रदेशका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिंहले पनि मटर कस्को हो ? भन्ने विषयमा खुल्न नसकेको बताए। ‘हत्यामा प्रत्यक्ष संलग्न भएका व्यक्तिबाहेक अन्यको समेत संलग्नको विषयमा समेत अनुसन्धान भईरहेको छ,’ उनले भने, ‘अहिले हामी प्रारम्भिक अनुसन्धानकै क्रममा छौ। विस्तृत अनुसन्धानमा सबै खुल्छ।’
प्रहरीका अनुसार अहिले पक्राउ परेकाहरु नेपालबाट भारत मटर (केराउ) तस्करी गर्दा अवरोध भएपछि प्रहरीको हत्यामा प्रत्यक्ष संलग्न भएकाहरु हुन्। समाचार स्रोतका अनुसार उक्त मटर भने धनगढीमा व्यवसाय गर्दै आएका भारतीयको हो। ति व्यापारीको संलग्नताको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको र केही प्रमाण भेटिए पक्राउ गर्ने तयारी रहेको एक जना प्रहरी उच्च अधिकारीले बताए।
प्रहरीका अनुसार कार्तिक १ गते मटर तस्कर गर्दा प्रहरी जवान र असईलाई पैसा दिएर मिलाउने प्रयास गरिएको र प्रहरीले अस्विकार गरेपछि हत्या गरेको अभियुक्तले बयानको क्रममा स्विकार गरेका छन् ।
उनीहरुले असई र प्रहरी जवानको हत्या गरेपछि गोरुगाडामा राखेर मटर भारत पुगाएका बयान दिएका छन् । सुरुमा असई विकको हत्या गरिसकेपछि तस्करहरुले प्रहरी जवान साउँदको लखेटीलखेटी हत्या गरेको प्रहरी स्रोत बताउँछ ।