सुदूरपश्चिमका थप तीन जना कोरोना संक्रमितको मृत्य
2020/10/21, 9:01
 
corona

धनगढीका दुई सहित सुदूरपश्चिम प्रदेशका थप तीन जना कोरोना संक्रमित मृत्यु भएको छ। होम आइसोलेसनमै बसिरहेका धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६८ वर्षीय पुरुष र धनगढीकै ६० वर्षीय व्यापारीको मृत्यु भएको छ। 

सेती अस्पतालका अनुसार असोज २८ गते संक्रमण पुष्टि भएका धनगढी २ का ६८ वर्षीय पुरुषको अवस्था गम्भीर भएपछि उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको हो।  उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ भने अर्को ६० वर्षीय व्यापारीको भारतको लखनउमा मृत्यु भएको हो। १५ दिन अगाडी सेती अस्पतालमा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो। अवस्था गम्भीर भएपछि उपचारका लागि लखनउ लगिएका उनको सोमबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। 

यस्तै सेती प्रादेशिक अस्पतालमा उपचाररत नेपाली कांग्रेस डोटीका नेता तेज पुनको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। केआईसिंह गाउँपालिका–४ वायलका ५० वर्षीय पुनको बुधबार दिउँसो उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। मंगलबार उपचारका लागि आएका उनको आइसियुमा राखेर उपचार भइरहेको थियो। 

उपचारकै क्रममा उनीमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना अस्थायी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। पुन नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहनुभएको थियो।  यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।