डोटीका कांग्रेस नेता पुनको शव व्यवस्थापन गरियो
2020/10/21, 9:04
 
death

कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका नेपाली कांग्रेस डोटीका नेता तेज पुनको शव व्यवस्थापन गरिएको छ । उनको शव गोदावरी नगरपालिका–४ स्थित तेघरी सामुदायिक वनमा व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ ।

कैलालीको तेघरीस्थित भवानी दल गणबाट सह–सेनानी नबलसिंह रोकायाको कमान्डमा खटिएको तालिम प्राप्त सैनिक टोलीले शव व्यवस्थापन गरेको हो । गणबाट मुलपण्डित समेत गई धार्मिक परम्परा बमोजिम अन्त्यष्टि गरिएको बताइएको छ । 

सेती अस्पतालमा उपचाररत केआईसिंह गाउँपालिका–४ वायलका ५० वर्षीय पुनको बुधबार दिउँसो उपचारका क्रममा मृत्यु भएको थियो।

 मंगलबार उपचार लागि आएका उनको आइसियुमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा उनीमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना अस्थायी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीकुमार श्रेष्ठले बताए ।

पुन नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका थिए ।