बझाङको सदरमुकाम चैनपुरमा खानेपानी
2020/10/21, 9:06
 
pani

बझाङको सदरमुकाम चैनपुरमा सेती नदीको पानी तानेर खानेपानीको लागि उपयोग गरिने भएको छ ।  एशियाली विकास बैंकको आर्थिक सहयोगमा नेपाल सरकारबाट साना शहरी खानेपानी योजना अन्तरगत सदरमुकाम चैनपुरमा खानेपानी योजना र्निमाण गरिन थालेको हो । यो आयोजनाका लागि २०७६ सालमा ठेक्का भएर आशिस सीएबी जेवी निर्माण सेवाले काम थालेको छ । 

कूल २१ करोड ७३ लाखको लागतमा निर्माण हुने सो योजनाको सिमभाडीमा सात लाख क्षमताका चार वटा  पानी रिजर्व ट्याङ्की सहित नदीको पानी फिल्टर गर्ने अन्य प्रविधिसहितका पुर्वाधार बन्नेछ । जिल्लामा  नदीको पानी लिफटिङ गरेर खानेपानीमा उपयोग गरिने यो पहिलो योजना हो । 

योजना सम्पन्न भएपछि सदरमुकामवासी खानेपानीको समस्याबाट मुक्त हुने उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताए । यो योजना आउदो चैत्र भित्र सकिने लक्ष्य छ । बजारसहित आसपासका बस्तीहरु भोपुर, दम्दुर र देवलमा खानेपानीे वितरण गरिने बताइएको छ । योजनाबाट हाल ११ सय ६५ धारा बन्ने र पछि धारा थपेर दुई हजार परिवार सम्मलार्य खानेपानी वितरण गर्न सकिने आयोजनाका इञ्जिनीयर विनित जोशीले बताए । 

योजनाको ७० र उपभोक्ताको ३० प्रतिशत लागतमा निर्माण हुने यो योजनामा विपन्न तीन हजार ७५० परिवारलाइ धारा र चर्पीमा अनुदान समेत दिएको वताइएको छ । हाल ट्याङकीसहित अन्य संरचनाहरु सबै बन्न थालेका छन् ।