कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटना परी दुई जनाको मृत्यु र चार जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा कैलालीमा भएका सवारी दुर्घटनाबाट एक महिला,एक पुरुषको मृत्यु भएको र चार पुरुष घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेव गौतमले जानकारी दिए ।
लम्की–चुहा नगरपालिका वडा नम्बर ९ की ३५ बर्सिया भागरथी रेग्मीको बसको ठक्करबाट मृत्यु भएको छ। बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर मोटरसाईकमा सवार रेग्मीलाई सोही दिशा तर्फ गइरहेको से १ प ९५७ नम्बरको बसले ठक्कर दिएको थियो। मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापुरका राम बहादुर चौधरी घाइते भएका छन्।
उनको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने बसका चालक ३६ वर्षीय खगेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ यस्तै पूर्वपश्चिम राजमार्गको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का रङप्रसाद न्यौपानेको मृत्यु भएको छ ।
न्यौपानेले चलाएको सुप प्र ०१००८प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका उनलाई उपचारका लागि लालरत्न अस्पताल लगिए पनि उपचारकै क्रममा उनको बुधवार राती मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार लम्कीचुहा नगरपालिका १ कै ३९ वर्षीय जयप्रकाश न्यौपाने र ५० वर्षी जन्मजय न्यौपाने घाइते भएका छन् ।
यस्तै बसले मोटरसाइकललाई ठक्कर दिँदा धनगढीमा १ जना गम्भीर घाइते भएका छन् ।
आज बिहान धनगढीबाट भन्सारतर्फ जादै गरेको से १ ख ६१४ नम्बरको बसले निर्माणाधीन मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत विद्युत् प्राधिकरण नजिकै विपरीत दिशाबाट आइरहेको से ७ प ३१३५ को मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका हुन् ।गम्भीर घाइते चालकको परिचय खुलेको छैन ।उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।