निर्मला हत्या प्रकरणः पुराना फाइल पल्टाउँदै प्रहरी
2020/10/22, 9:55
 
Nirmala

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्या प्रकरणलाई छिट्टै टुंगोमा पुर्याउने बताउँदै आइरहेका बेला प्रहरीले सो घटनाका पुराना अनुसन्धान फाइल तथा मिसिल फेरि पल्टाउन थालेको हो ।

यसैगरी, पुराना फाइलको अध्ययनसँगै प्रहरीले पहिले अनुसन्धानमा तानिएर छुटेका र नयाँ सम्भावित अनुहारलाई समेत उच्च निगरानी गरिरहेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले सो हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी टोली सक्रिय रहेको र पुराना मिसिलसमेत अध्ययन हुँदै गरेको बताए ।

‘अनुसन्धानका लागि प्रहरीका धेरै टोली सक्रिय छन्, पुराना मिसिल पुनः अध्ययन गर्ने तथा शंकास्पद पुराना तथा नयाँ अनुहारमाथि उच्च निगरानी राखिएको छ,’ प्रहरी प्रवक्ता एसएसपी कडायतले राजधानीसँग भने ।

उनले पहिले अनुसन्धानका क्रममा तानिएर छाडिएकाहरूको समेत मुद्दा नटुंगिएका कारण उनीहरू पनि अनुसन्धानकै क्रममा रहिरहने जनाएका हुन् ।

‘पहिले अनुसन्धानमा तानिएका र छुटेकाहरूको मुद्दा टुंगिएको होइन, आवश्यक परे फेरि पनि अनुसन्धानको दायरामा ल्याउन सकिन्छ । नयाँ अनुहार पनि निगरानीमा छन्,’ प्रवक्ता कडायतले थपे ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले घटनाका दोषीलाई कारबाही गरेरै छाड्ने नीति लिएपछि सुस्त रहेको अनुसन्धानले फेरि तीव्रता लिएको हो । महानिरीक्षक क्षेत्रीले पदभार सम्हाल्दा नै सो घटनालाई टुंगोमा पु९याउने बताएका थिए ।

‘अनुसन्धानको गतिले अहिले लय लिएको छ, अनुसन्धान निष्कर्ष नजिक छ, केही समयभित्रै सत्यतथ्य बाहिर आउँछ,’ एक उच्च प्रहरी अधिकारीले भने ।

१० साउन २०७५ मा पन्तको घरनजिकै उखुबारीमा बलात्कार पछि हत्या गरिएको थियो । प्रहरीले उनको शवलाई ११ गते बिहान नियन्त्रणमा लिएको थियो । त्यसपछि घटना भएको २४औं दिन अर्थात् ४ भदौ २०७५ मा प्रहरीले दिलिप विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । राजधानी दैनिकबाट