कैलालीमा ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु
2020/10/24, 8:02
 
Krishna janmastami

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक कैलालीमा ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरिएको छ । कृषि विकास निर्देशनालय डोटीको अनुदान सहयोगमा गोदावरी नगरपालिका–२ तेघरीमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालिएको हो ।     

वार्षिक ५० हजार रुपियाँ भाडा तिर्ने गरी डेढ बिघा जग्गा लिजमा लिएर ड्रागन फ्रुटको खेती सुरु गरेको कृषक गोकर्ण ओलीले बताए ।  उनी कञ्चनपुरको भीमदत्त नगरपालिकावासी हुन् ।  ‘मैले सुरुवातमा २८ लाख रुपियाँ लगानी गरेर ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरेको छु’, उनले भने । ‘जसमा निर्देशनालयबाट चार लाख ८८ हजार रुपियाँ अनुदान सहयोग मिलेको छ ।’ 

डेढ बिघा जमिनमा चार हजार ड्रागन फ्रुटको बोट रोपिएको छ । एक पोलमा चार/चार वटा बोट राखेको कृषक ओलीले बताए । ‘मैले भारतमासमेत यसको खेती हेरिसकेपछि यहाँ आफूले खेती थालेको हुँ’, उनले भने  । 
 ड्रागन फ्रुट खेती नेपालको लागि नयाँ हो । नेपालको केही ठाउँमामात्रै यसको खेती भएको छ । सुदूरपश्चिम प्रदेशको लागि झनै नयाँ हो । कृषक ओलीको फार्ममा बोक्रा गुलाबी र गुदी रातो हुने तथा बोक्रा र गुदी दुवै रातो हुने गरेर दुई प्रजातिको ड्रागन फ्रुट रोपिएको छ । 
आफूले लगाएको ड्रागन फ्रुट डेढ वर्षपछि फल्न थाल्ने कृषक ओलीले बताए। उनका अनुसार जेठदेखि यसको फल्ने सिजन हो । बोट लगाएको तीन वर्षपछिमात्रै राम्रो उत्पादन हुने गरेको छ । ‘ड्रागन फ्रुट बहुवर्षिय बाली हो’, कृषक ओलीले भने । ‘तीन वर्ष भएपछि बल्ल राम्रो फल्न सुरु हुन्छ ।’ 

No description available.
 नेपालमा ड्रागन फ्रुटको मूल्य प्रति केजी ८०० देखि एक हजार दुई सय रुपियाँसम्म रहेको जनाइएको छ । मुलुकमा पर्याप्त मात्रामा उत्पादन नहुने गरेकाले ताइवान, भारत लगायतका देशबाट यो फल यहाँ भित्र्याउने गरिएको निर्देशनालयका प्रमुख यज्ञराज जोशीले जानकारी दिए  । 
 ‘यो धेरै माग हुने सिउडी प्रजातिको फल हो’, उनले भने । ‘अचेल धेरै मान्छेले खाने गरेका छन ।’ चिल्लोको मात्रा निकै कम हुने ड्रागन फ्रुटमा आइरन, भिटामिन प्रशस्त मात्रामा पाइने गरेको र बालबच्चा, सुगरको विरामीको लागि अत्यन्त लाभदायक मानिने गरेको जोशीले बताए । उनले प्रदेशमा चाँडै नै यसको खेती थप विस्तार हुने उल्लेख गरे । ‘एकचोटी लगाएमा २० वर्षसम्म यसले फसल दिन्छ’, जोशीले भने । ‘तापक्रम बढी हुने तराईमा यसको खेती प्रशस्त मात्रामा गर्न सकिन्छ । अब अरु किसानले पनि चाँडै लगाउँदैछन ।’ कृषक ओलीले उत्पादित ड्रागन फ्रुट नेपालमा बिक्री नभए भारत निर्यात गर्ने बताए ।

भारतमा ड्रागन फ्रुटको धेरै खेती भएपनि त्यहाँको उत्पादनले माग धान्न नसकिरहेको उनले उल्लेख गरे । ‘भारतका व्यक्तिले जति पनि किन्ने भनेका छन’, उनले भने । ‘त्यसैले उत्पादित फल बिक्रीका लागि बजारको समस्या झेल्नु नपर्नेमा ढुक्क छु ।’