बैतडीको पाटन बजार दुई दिनका लागि सील
2020/10/24, 12:28
 
corona

बैतडीको पाटन बजार क्षेत्र दुई दिनका लागि सील गरिएको छ। पाटनस्थित उदयदेव मन्दिरमा महानवमीका अवसरमा लाग्ने मेलालाई मध्यनजर गरेर बजार क्षेत्र सील गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए। 

शुक्रबार बसेको सर्वपक्षीय बैठकले शनिबार बिहान १० बजेदेखि आइतबार अपराह्न ४ बजेसम्मका लागि बजार क्षेत्र सील गर्ने निर्णय गरेको हो। सोही निर्णयअनुसार बजार क्षेत्र सील गरिएको साउदले जानकारी दिए। कोरोना भाईरसको जोखिम कायमै रहेकाले मेलाको बेला हुन सक्ने भीडभाडलाई नियन्त्रण गर्नका लागि बजार क्षेत्र सील गरिएको हो। दुई दिनसम्म बजार पूर्ण रूपमा बन्द रहनेछ भने उदयदेव मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाइने साउदले जानकारी दिएका छन्। ‘कोरोना भाईरसको जोखिम कम गर्नका लागि बजार क्षेत्र सील गर्ने निर्णय गरेका हौँ’, उनले भने।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उदयदेव मन्दिरमा दिइने बलिमा समेत रोक लगाइने साउदले बताए। जिल्ला सुरक्षा समितिले नित्य पूजा बाहेकका अन्य सबै क्रियाकलापमा रोक लगाएको छ। ‘उदयदेव मन्दिरमा महानवमीको अवसरमा लाग्ने मेलामा बलि गर्न निषेध गरेका छौँ’, प्रहरी निरीक्षक साउदले भने, ‘भीडभाडले कोरोनाको जोखिम बढ्ने भएकाले यस्तो निर्णय गरेका हौँ।’

यस्तै बजार क्षेत्र सील भएको र कसैले निर्णय उल्लंघन गरेमा ५ हजार जरिवानासहित कानुनी कारबाही गर्ने सर्वपक्षीय बैठकले निर्णय गरेको छ। जिल्लाका विभिन्न धार्मिक स्थलहरूमा बलिसहितको पूजाआजामा रोक लगाइएको भएपनि धेरै ठाउँमा बलि सहित पूजा गरिएको पाइएको छ। स्थानीयहरूले आफ्नो धर्मसंस्कृति नछोड्ने भन्दै विभिन्न शक्तिपीठहरूमा महाअष्टमीको अवसरमा बलि दिएका हुन्। यसअघि स्थानीय प्रशासनले बलिमा रोक लगाउने निर्णय गरेको भएपनि सो निर्णय कार्यान्वयन भने हुन सकेको छैन।