चाडपर्व विशेष सुरक्षा योजनाः सुदूरपश्चिममा पाँच हजार प्रहरी परिचालन
2020/10/25, 8:17
 
corona

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चाड पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना निर्माण गरी कार्यान्वयन गरिरहेको छ । प्रदेशको सुरक्षा व्यवस्थालाई भरपर्दो एवं मर्यादित बनाउनका लागि वडा दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको हो ।

सुरक्षा योजना अनुसार चाडपर्वको समयमा समाजमा हुने सामाजिक विकृतिदेखि सामाजमा घट्न सक्ने जघन्य अपराध समेतको न्यूनीकरणका लागि छुट्टा छुट्टै विशेष टोली गठन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेस कुमार सिंहका अनुसार गठन गरिएका टोलीको प्रत्यक्ष रुपमा सञ्चालन र नियमन प्रदेश प्रहरी कार्यालयले गर्ने व्यवस्था गरिएको छ । चाडपर्वका बेला प्रदेशभरी ७८ जना सादा पोशाकका प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । 

बैंक तथा वित्तीय संस्थाहरु र सुनचाँदीको कारोबार हुने स्थानहरूलाई मात्रै लक्षित गरी प्रदेशभरि १३३ जना प्रहरी परिचालन भएका छन््, उनले भने, ‘दुर्घटना न्यूनीकरणका लगि २०८ जना प्रहरी कर्मचारीहरु विभिन्न स्थानमा खटाईएको छ ।‘  यात्रु लगायत समस्यामा परेका व्यक्तिहरुको सहजीकरणका लागि प्रदेशका ४० ठाउँमा हेल्प डेस्क स्थापना गरिएको उनले बताए । उपभोक्ताको हक हित संरक्षणका लागि स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमनको कार्यलाई नियमित र प्रभावकारी बनाउने रणनीति सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले लिएको छ ।

कोभिड १९ को संक्रमणको जोखिमलाई कम गर्न छुट्टै विशेष योजना समेत बनाई कार्यान्वयन गरिएको प्रवक्ता सिंहको भनाइ रहेको छ । चाडपर्वको समयमा अपनाउनुपर्ने सावधानी विषयक सेचतनामूलक कार्यक्रम र क्रियाकलापहरूको समेत सुरक्षा योजनामा समाविष्ट गरिएका छन् । 

वडा दशैं, दीपावली र छठ पर्वमा प्रदेशभरिको समग्र शान्ति शुरक्षा र सुव्यवस्थाका लागि कुल पाँच हजार ५० जना प्रहरी कर्मचारी परिचालित भएका छन् । अधिक सवारी चापका कारण हुने सडक दुर्घटना न्यूनीकरण गर्ने, अत्यधिक मादक पदार्थ सेवन, जुवातास जस्ता विकृतिलाई परम्पराको रुपमा अवलम्बन गर्ने कार्यलाई निरुत्साहित गर्न प्रहरी परिचालन भएका छन् । प्रवक्ता सिंहले भने,‘भन्सार चोरी, तस्करी, भुइँचम्पाा, पटाका, लगायतका विष्फोटक पदार्थको प्रयोगमा कमी ल्याउन र चोरी डकैती, लुटपाट, महिला एवं बालबालिका माथि हुने दुव्यवहार, यौनजन्य हिंसा, कालोबजारी लगायत न्यूनीकरणका लागि कार्यहरू अगाडि बढाइएको छ ।’

विशेष सुरक्षा योजना अन्तर्गत प्रदेश प्रहरीले ९ वटै जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालयका प्रहरी कर्मचारी रहने गरी दसैँ तिहार एकिकृत सुरक्षा योजना बनाईएको छ   उनका अनुसार सीमानाका तथा बसपार्कहमा हेल्प डेस्क, भिडभाड नियन्त्रण, रातको समयमा डिहडुल गर्ने व्यक्तिहरुको खानतलासी, जुवा तास खेल्ने खेलाउने स्थानहरुमा प्रहरीको निगरानी तथा गस्ती बढाइएको छ ।  विशेष सुरक्षाका लागि तालिम प्राप्त कुकुर परिचालन, सीमानाकामा चेकजाँचको व्यवस्था र उपभोग्य सामाग्रीहरुको कालोबजारी हुन नदिन प्रभावकारी अनुगमन र क्वारेन्टीनहरुको डियुटी गरिदै आईएको छ ।