शोकमा दशैंः तस्करले खोसेको दुई प्रहरीका परिवारको खुशी 
2020/10/26, 8:36
 
police family

कञ्चनपुरको पुनर्वास नगरपालिका–६ की ५० वर्षीया कलावती बिकको आश्रुधारा नरोकिएको १० दिन भईसक्यो  । उनी छाती पिट्दै छिनछिनमा मुर्छित हुन छोडेकी छैनन् । छोरा गुमाएको पीडामा डुबेकी उनले दैवलाई सराप्न पनि छोडेकी छैनन् । ‘हे दैव ! के बिगारेको थियो मेरो गोविन्दले । मेरो मुटुको टुक्रा थियो, चुडालेर लगिस् । उ भन्दा पहिले मलाई किन लगिनस् ?’

बन्नै लागेको अधुरो घरको एक कुनामा भावविह्ल भएकी पूजा बिक (२१) को दुरावस्था पनि उस्तै छ । जवानी छँदै पती वियोगले विक्षिप्त बनेकी उनको मुखबाट आवाज निस्किन पनि मुस्किल भईरहेको छ । घटनाको १० दिन वितेपनि उनका आश्रुधारा निरन्तर बगिरहेकै छन् । पत्नी पूजाले जीवनको सूर्य नै सदाका लागि अस्ताएको अनुभुति गरिरहेकी छिन् ।

अछामको बान्नगढी जयगढ गाउँपालिका ५ मा पनि ७१ बर्षीया मनसरा साउदको अवस्था पनि हेरि नसक्नु छ । मुखमा धेरै दिनसम्म अन्नको दाना नहाल्दा उनी कमजोर भईसकेकी छिन् । रुदैं कराउँदै आफ्नै छाती आफै पिट्छिन् । छिनछिनमा वेहोस हुन्छिन् । केहीवेर मौन हुदैं फेरि पहिलेकै अवस्थामा आउँछिन् । उनलाई सम्हालका लागि गाउँले र आफन्तहरु दैनिक रुपमा लागिरहेका छन् तर उनलाई सान्त्वना दिन सकेका छैनन् । डाको छोडेर रुदै भन्छिन्– ‘अब मलाई को सोधोला । को हेरला । म कसरी बाँच्नु । को पापीले मेरो छोरो लैग्यो ।’

धनगढी उपमहानगरपालिका–१२ जुगेडा स्थित अस्थायी प्रहरी पोष्टका कार्यरत टेकवहादुर साउँदको तस्करहरुले हत्या गरेपछि उनकी श्रीमति घिमाका आँखाबाट आँसु आउन पनि बन्द भईसक्यो । घटनाको खबर पाएपछि आफुलाई सम्हालेर धनगढी पुगिकी उनी शव भेटिएपछि सम्हालिन् सकिनन् । घटनास्थलमै खोजी गर्न पुगेकी उनलाई बल्ल बल्ल अछाम पुराईयो । खिमा घरमै जिउँदो लास जस्तो बनेकी छिन् । उनका छोरीहरुले आमालाई नरुन पटक पटक भन्छन् । झन उनी डाको छोडेर रुन्छिन् । उनको सिउँदोको सिंन्दुर मात्रै पुछिएको छैन् उनको जीवन पनि वेसहरा बनेको छ । जागीर खाएको २ वर्षपछि उनको बिहे भयो ।

श्रीमती घरयासी काम गर्छिन् । उनका दुई छोरी छन् । बुबाको हत्या भएपछि दुबै छोरीहरुको जीवनको छँहारी गुमेको छ । मृतक परिवारको यो कारुणिक दृष्यमा हर्षका सञ्चार हुने केवल दैवलाई थाहा होला । सबैका आँखा रसाएका छन् । स्कूले साथी, गुरु वर्ग र उनलाई चिन्ने जान्ने सबै मर्माहत भएका छन् ।

प्रहरी चौकीका ईन्चार्ज सहायक प्रहरी निरिक्षक गोविन्द बिक र प्रहरी जवान टेकवहादुर बिक डिउटीकै क्रममा कार्तिक १ गते राति तस्करहरुबाट मारिएपछि उनीहरु दुबैको परिवार उजाडिएको छ । दुबै परिवार शोकमा डुबेका छन् । दुवै परिवारको दशैंको खुबी तस्करले खोजेका छन् । दुवै परिवारलाई गहिरो चोटमा पारेका छन् तस्करहरुले ।  राष्ट्र सेवक गुमाएको पीडाले शोकमग्न छ ।
कार्तिक २ गते विहान मोहना नदीमा हत्या गरी फालेको अवस्थामा भेटिएका गोबिन्द कार्तिक ३ गते (सोमबार) कञ्चनपुरको दोदा नदीमा विलाए । कार्तिक ४ गते (मंगलबार) मोहना नदीमा शव गाडिएको अवस्थामा फेला परेका साउँद बुधबार अछामको कैलाशखोलामा अस्ताए ।

असई बिक घटना भएको शनिबार साँझ मात्र धनगढी शिवनगर स्थित डेरामा श्रीमती र छोरीसँग भेट गरेर फर्केका थिए । दोस्रो दिन बिहान खाना खाने गरी आउँछु भन्दै डिउटीमा फर्किएका गोविन्द कहिल्यै नफर्किने गरी बिदा भए ।

उनले यसपालीको दशैंमा पुजाको गलालाई तिलहरीले सजाउने बचन दिएका थिए । यसअघि पटक पकट हुने फोन वार्तामा पनि दशैं आउने वेलासम्म तिलहरी किनि दिने भन्दै आएका थिए । तर गोविन्दले श्रीमतिका लागि तिलहरी किन्ने सपना पुरा गर्न सकेनन् । श्रीमानले आफ्नो रहर अधुरै राखेको भएपनि पुना सहन्नि होला । चित्त बुझाउँथिन होला । तर जीवनको सहारा नै गुमेपछि उनलाई सहन गाहे भएको हो । गलामा तिलहरी लगाउने अधुरै रहरमा अझ उनको सिउँदोको सिन्दुर पनि पुछिएपछि उनी निकै मर्माहित भएकी छिन् । 

असई विकको हत्यापछि पत्नी पूजा जीवनमा बज्रपात भयो । ६ वर्षीया छोरी आरोही र ३ वर्षीया छोरी आरुषीले पनि बाबाको न्यानो सहारा सदाको लागि गुमाए । विपन्न परिवारका एक्लो कमाइका स्रोत गोविन्दको निधनले उनको बन्नै लागेको नयाँ घरले तुरुन्तै छत नपाउने भएको छ । बिरामी भाई र बेरोजगार दाई पनि गोविन्दको दुःखद अवशानले टुहुरो झै भएका छन् ।

अछामको बान्नगढी जयगढ गाउँपालिका ५ का रामबहादुर घरका साइला छोरा । उनका कान्छा भाइ नेपाली सेनामा छन् । एक भाइले सीएमए पढेर घरमै लोक सेवाको तयारी गरिरहेका छन् ।  उनीभन्दा अगाडीका आधारभूत विद्यालयका शिक्षक हुन् । घरमा बुबा र आमाले खेती किसानी गर्छन् । उनका जेठा दाई १० वर्षको जागिरले उनको परिवारको घरखर्च चलेको थियो । अलिकति पैसा जम्मा गरेर धनगढीमा घर बनाउने उनको इच्छा थियो । त्यो ईच्छा पनि उनको पुरा हुन सकेन् । छोरीलाई धेरै पढाउने उसको सोच थियो । त्यो सोचलाई पनि यथार्थमा बदल्न पाएनन् ।

उनका दाई गंगवहादुर साउँदका अनुसार रामबहादुर सानैदेखि शारिरीक कसरतमा अब्बल थिए । उनी फुर्तिला र जोसिला थिए । दौड, जम्पिङ, ज्याम्नेस्टिकमा उनी स्कुलमा पहिलो हुन्थे । सानैदेखि फोर्समा जाने उनको सपना थियो । कक्षा १२ पास गरेपछि उनले दिपायलमा प्रहरी हुन आवेदन दिएका थिए । त्यसबेला उनी छनोटमा परेनन् । प्रहरी बन्ने उनको सपना यति जब्बर थियो कि  त्यसपछि गरी पाँच पटक छनौट नहुँदा पनि उनले हिम्मत हारेनन् । तर उनको हिम्मतले कार्तिक १ गते मोहना नदीमा घुँडा टेक्यो । उनी सदाका लागि हिम्मतविहीन भएर संसारबाट बिदा भए । 

‘साथीहरूले इन्डिया जाउँ भन्दा उसले म देशको लागि काम गर्छु भनेर प्रहरी सेवा लाग्यो । देशका लागि कर्तव्य निभाउँदै ज्यानको आहुती दियो । तर हामी सबैलाई एक्लो र सहाराहीन बनाएर गए ।’ असई साब र आफ्नो भाइले देशको सेवा गर्दै गर्दा ज्यान गुमाउनु परेकोमा गर्व लागेको उनको भनाइ छ । ‘बर्दीमै प्राण त्याग्यो, यसमा मलाई गर्व लागेको छ,’ उनले भने । उनी फेरि यस्ता घटना नदोहोरिऊन् भन्ने चाहन्छन् । 

आज बडादशैँको दिन । टीका र जबरा ग्रहण गरी मान्यजनबाट आर्शिवाद लिने दिन । दाजु डिउटीबाट फर्किनुहुन्छ अनिसँगै बसेर टीका लगाउनुपर्छ । सायद यो बेला यस्तै सोचिरहेका हुन्थे होला पुनर्वासका पवन । दाजुसँग बसेर दशैँ नमनाएको पनि ३ वर्ष बितिसकेको थियो । त्यसैले पनि यसपालीको दशैँ पवनका लागि खास हुनेवाला थियो । किनकी दाजु नजिकै धनगढीमा कार्यरत हुनुहुन्थ्यो । तर जीवनमा सधै सोचेझै कहाँ हुन्छ र ? गित नै छ नी, सोचे जस्तो हुन्न जीवन । आखिर पवनको परिवारमा पनि ठीक यस्तै भएको छ, अहिले । जताततै दशैँको हर्षोल्लास छाएका बेला पवनको घरमा परेको बज्रपातले यी चाहाना चुडेर लगेको छ । १० दिन पुग्यो दाजु, गोविन्द बिकको विभत्स हत्या भएको आज ।

आशाको पिल्लर ढलेको घरको एक कुनामा १० दिनदेखि पुजा भावविह्ल छिन् । जवानी छँदै पती वियोगले विक्षिप्त बनेकी उनको मुखबाट अझै आवाज निस्किन सकेको छैन् । छेवैमा गोविन्दको तस्बिरले उनलाई हेरिरहन्छ । बेला बेला गोविन्दलाइ सम्झिदै टोलाउँछिन् उनी । पुजाका देवर पवनले भाउजुको अवस्थाबारे बताउँदै भने, ‘दाजुलाई सम्झेर बेला बेला भक्कानिनु हुन्छ । कतिखेर एक्कासी अचेत बन्नुहुन्छ । तैपनि आफूलाई सम्हाल्ने कोसिस गरिरहनुभएको छ ।’ गोविन्दका  परिवारका लागि यसपाली दशा बनेको दशैँ खै अब कहिले आउँछ पत्तो छैन् । ‘दाजुले जागिर लागेदेखि राम्रोसँग दशैँ मनाउन पाएका थिएनौँ ।’ पवनले भने, ‘यसपाली धनगढीमै कार्यरत भएकाले दाजुसँगै बसेर दशँै मनाउने धोको थियो । तर अब त्यो धोको हामीले कहिल्यै पूरा गर्न पाउने छैनौँ ।’ दाजुको विभत्स हत्या गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग उनको छ ।  ‘हामीले दाजुलाई त पाउँदैनौँ तर उहाँको हत्या गर्नेहरुलाई राज्यले कारवाही गरेर हाम्रो घाउमा मलम लगाउनुपर्छ ।’ 

प्रहरी सहायक निरीक्षक बिकसँगै डिउटीमा खटिएका बेला विभत्स हत्या गरिएका जवान रामबहादुर साउदको परिवार पनि यतिबेला बियोगमा छ । २ वर्षदेखि दशैँमा घर जान नपाएका साउदले भाइ प्रकाशलाई भनेका थिए, ‘यो वर्ष रमाइलो गरेर दशैँ मनाउनुपर्छ ।  म पनि विदामा घर आउँछु ।’ तर परिवारसँगै बसेर दशैँ मनाउने रामबहादुरको चाहाना पनि कहिल्यै पूरा हुने छैन् । न त उनको परिवारको नै । ‘दशैँमा देवतालाई भाकल गरी राखेको रागो र बोका चढाउने तयारी गरेका थियौँ । यो वर्षको दशैँ राम्रैगरी मनाउने सल्लाह भाईसँग पनि भएको थियो । तर दैवको अगाडि कसको के नै लाग्दो रहेछ ।’ उनका दाजु गंगा भन्छन्, ‘७२ वर्षको आमा र ६९ वर्षका वुवाका आसु अझै रोकिएका छैनन् । घरी घरी भाईलाई सम्झिदै रुन्छन् ।’ विडम्बना दशैँकै कारण किरिया समेत राम्रोसँग गर्न पाएनन् साउदको परिवारले । ‘दशैँमा मठ मन्दिरमा पूजापाठ, बली दिइन्छ । आफ्नो त दशा लाग्यो लाग्यो अरुहरुको पनि किन दशैँ बिर्गानु भनेर ७ दिनमै काजकिरिया समाप्त गर्यौँ ।’ गंगाले भने ।

साउदकी श्रीमती खिमा पतिवियोगको पीडामा छिन् । भन्छिन्, ‘दैवले दिएको चोट सहनै पर्यो । दशैँमा विदा मिलेन भने तिहारमा पक्कै आउँछु भन्नुहुन्थ्यो । तर मेरा खुसी सबै दैवले चुडेर लग्यो ।’ पतिवियोग त छदैछ टुहुरा २ छोरीको लालनपालन कसरी गर्ने अब ? भन्ने पिर अर्कोतिर छ । साउदका दाजु गंगाको माग छ, ‘यदी देशमा कानून छ भने भाईको हत्या गर्ने अपराधीहरुलाई राज्यले आजीवन जेल हाल्नुपर्छ । तब मात्र हामी न्याय पाएको अनुभुती गछौँ ।’ उनले भने, ‘२ छोरीको पालनपोषणदेखि शिक्षादिक्षाको जिम्मा लिएर सरकारले कानून अनुसार पाउने सबै सेवा सुविधा दिनुपर्छ ।’